स्व.पत्रकार सुरेश रजकलाई न्याय दिलाउन माग गर्दै बाराका पत्रकारहरु आए सडकमा

संदिप प्रसाद यादव
724 पाठक संख्या

कलैया । एभिन्युज टेलिभिजनका स्व.पत्रकार सुरेश रजकलाई न्याय दिलाउन तथा सञ्चार गृहमाथीको ज्यादती विरुद्ध बाराका पत्रकारहरु सडकमा आएका छन्।

नेपाल पत्रकार महासंघ बाराको अगुवाइमा शनिबार कलैयाको भरत चौकमा बाराका सञ्चारकर्मीहरुले प्रदर्शन गरेका हुन्।

पत्रकार माथीको दमन बन्द गर,स्व.पत्रकार सुरेश रजकलाई न्याय देउ,हिंसात्मक आक्रमण बन्द गर,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काम बन्द होस् र पत्रकारको सुरक्षा ग्यारेन्टी गर भन्दै सञ्चारकर्मीहरुले र्‍याली निकालेका हुन्।

विरोध सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवानले दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

स्वतन्त्र रुपमा पत्रकारिता गर्ने पत्रकारहरुमाथी भौतिक आक्रमण गरि ज्यानै लिने सम्मको काम गर्नु निन्दनीय रहेको उनले जनाए।

पत्रकार महासंघले कुनै पनि तानाशाही व्यवस्थालाई स्वीकार नगरेको इतिहास साक्षी रहेको उनको भनाई थियो।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथी कुनै हस्तक्षेप स्वीकार्य नहुने उनले बताए।

त्यस्तै नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठले पत्रकारमाथि गरिने आक्रमण निन्दनीय भएको बताए। उनले यस्तो किसिमको कामलाई तत्काल बन्द गर्न माग गरे।

विरोध सभामा अग्रज पत्रकार उमेशलाल दासले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न आवश्यक रहेको जनाए।

नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासको अध्यक्षतामा सो कार्यक्रम भएको हो।

कार्यक्रममा पत्रकार महासंघ मधेस प्रदेशका कोषाध्यक्ष अनिल गौरब,सदस्य साजिर मंसुर, नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष कमल उपाध्याय, कार्य समिति सदस्य प्रभु यादव,नरेश गुप्ता,नारायण पौडेल,प्रेस युनियनका केन्द्रिय सदस्य अप्सारा पुडासैनी,बारा शाखाका अध्यक्ष श्यामबाबु प्रसाद यादव,प्रेस मञ्च नेपालका केन्द्रिय सदस्य अनिल बर्मा पत्रकार महासंघ बाराका पूर्व उपाध्यक्ष राकेश पाण्डेय,पूर्व सचिव जय नारायण यादवर्,प्रेस युनियन बाराका कार्य समिति सदस्य संदिप प्रसाद यादव लगायतको उपस्तिथि रहेको थियो ।

सो विरोध सभाको संचालन पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडाको रहेको थियोे।

राजावादीहरूको आगजनीमा परी तीनकुनेमा शुक्रबार पत्रकार सुरेश रजकको मृत्यु भएको थियोे ।

Leave a review

This will close in 0 seconds