सिमरामा पहिलोपटक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने

रञ्जन यादव
282 पाठक संख्या

बारा : बाराको सिमरामा यही आउदो भदौ २१ गतेदेखि २८ गतेसम्म पहिलो पटक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

सिमरा रंगशालमा रात्रीकालिन समयमा संचालन हुने उक्त प्रतियोगिताको सिमरा भेट्रान क्लबले आयोजना गर्न लागेको हो ।

आयोजक क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतियोगितामा नेपालभित्रका शीर्ष महिला क्लबहरू र भारतको दार्जिलिङस्थित कुरुसङ गल्स फुटबल एकेडेमीसहित आठ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगितमा विभागिय महिला टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लबको सहभागिता रहेन छ भने अन्य टोलीमा मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, दार्जिलिङको कुरुसङ गल्स फुटबल एकेडेमी र आयोजक सिमरा भेट्रान क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेताले नगद पाँच लाख रुपैयाँ पाउने छ भने उपविजेताले दुई लाख पचास हजार रुपैयाँ प्राप्त गर्ने जनाईएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कार दिइनेछ भने प्रतियोगितमा नै उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

पत्रकार सम्मेलनमा बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की अध्यक्ष चयन गुरुङ र वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठ, नव जनजागृति युवा क्लबका महासचिव शम्भु सिंह ठकुरी र आयोजक क्लबका हरी चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Leave a review