कलैया : पूर्व–पश्चिम झण्डा मार्च सशस्त्र प्रहरी बल ११ नम्बर गण हेडक्वाटर रौतहटले १२ नम्बर गण हेडक्वाटर बारालाई झण्डा मार्च सोमबार हस्तान्तरण गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले २५ औं स्थापना दिवस ( रजत महोत्सव ) को अवसरमा झण्डा मार्च सञ्चालन गरेको हो। सशस्त्र प्रहरी बल रौतहटले नेपाल– भारत सीमा क्षेत्रको दशगजा हुँदै बाराको सिम्रौनगढको झरोखर पोखरीस्थित स्तम्भ नम्बर ३५६/३ मा झण्डा मार्च हस्तान्तरण गरेको हो।
रौतहट जिल्लाको बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदिपकुमार यादव र रौतहटका सशस्त्र प्रहरी उपरीक्षक राम हरि अधिकारीले संयुक्त रुपमा झण्डा मार्च हस्तान्तरण गरेका हुन्।उनीहरुले सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवार र १२ नम्बर गण बाराका एसपी खुमबहादुर केसीलाई संयुक्त रुपमा झण्डा मार्च हस्तान्तरण गरेका हुन्।
सो झण्डा मार्चलाई सशस्त्र प्रहरी बल नं.१२ गणले माघ ८ गते १३ नम्बर गण पर्सालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले साझेदारी दैनिकलाई जानकारी दिएका छन्।
२५ औं वर्षको गौरवपूर्ण यात्रामा यही माघ महिनामा मनाउन गइरहेको रजत महोत्सवको ऐतिहासिक अवसरलाई स्मरणीय प्रेरणादायी तथा राष्ट्रव्यापी सन्देश प्रवाह गर्ने उद्देश्यले सशस्त्र प्रहरी नेपालले २५ औं स्थापना दिवसको अवसरमा पुर्व–पश्चिम् झण्डा मार्च कार्यक्रम आयोजना गरिएको हो।
नेपाल भारत खुल्ला सीमाका विभिन्न संवेदनशिल र महत्वपूर्ण नाकाहरु हुँदै २२ दिनसम्म संचालन हुने छ। २२ औं दिन पर्सा जिल्लाको ऐतिहासिक रुपमा भेटघाट गरि संयुक्त झण्डा मार्च विशेष समारोहका साथ रजत जयन्तिको उत्सव मनाइने यो झण्डा मार्चले सशस्त्र प्रहरीले बलको २५ वर्ष सेवा बलिदान र प्रतिबद्धताको जिवन्त सन्देश प्रवाह गर्नेको छ। सीमा सुरक्षा प्रतिको अटल संकल्पलाई जनस्तरसम्म पु-याउने र संगठन भित्रको समन्वय र सामुहिक भावना सुदृढ गर्नेछ।
सीमावर्ती क्षेत्रको नागरिक स्थानीय बासी तथा सरोकारवाला निकायहरुसंग जन सम्पर्क विश्वास र सहकार्य अभिवृद्धि गर्ने उद्देश्य संगठनको छ। २०८२ पुस २० गते बाट पुर्वमा सिमा सुरक्षा गुल्म हेडक्वाटर काकडभिट्टा र पश्चिममा सिमा सुरक्षा गुल्म हेडक्वाटर गड्डाचौकीबाट “ पुर्व– पश्चिम् झण्डा मार्च “ सुरु गरिएको हो ।
उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, बौधीमाई नगरपालिकाका उप– प्रमुख प्रमिला देवी, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविन कार्की तथा राष्ट्रिय अनुसन्धान रौतहटका उप–निर्देशक कुमार बुढाथोकीको विशेष उपस्थिति थियो। कार्यक्रममा सिम्रौनगढ नगरपालिका –९ का वडा अध्यक्ष राम एकवाल यादव, भारतिय समकक्षी एसएसबी ७१ बिएन कम्पनी जमुनियाका कम्पनी असिस्टेन्ट क्मान्डेन्ट,स्थानीयबासी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति थियो।

