प्रतिनिधि सभा निर्वाचनअघि बारा-पर्सा सीमा ७२ घण्टा बन्द गरिने

संदिप प्रसाद यादव
290 पाठक संख्या

कलैया । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतीय सीमासँग जोडिएको बारा र पर्सा जिल्लाको सीमानाका ७२ घण्टा बन्द गरिने भएको छ।

नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरूबीच उच्च स्तरीय सहमति भएको छ । पर्साको वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसिपी) मा शनिबार आयोजित द्विपक्षीय सुरक्षा बैठकमा निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै मतदान हुनुभन्दा ७२ घण्टा अगाडिदेखि दुवै देशका सीमा नाकाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो।

बैठकले निर्वाचनको एक हप्ता अगाडिदेखि नै सीमा सुरक्षालाई थप सुदृढ बनाउने र दुवैतर्फबाट तत्कालै प्रभावकारी चेकजाँच सुरु गर्ने साझा प्रतिबद्धता व्यक्त गरेको छ। सीमा क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायले संयुक्त रूपमा काम गर्ने सहमति समेत भएको छ।

विशेषगरी अवैध हातहतियार, जाली मुद्रा, मानव बेचबिखन र अवैध व्यापार जस्ता आपराधिक क्रियाकलापलाई निरुत्साहित गर्न कडाइ गरिनेछ। यसका साथै निर्वाचनका बेला शान्ति सुरक्षामा खलल पुर्‍याउन सक्ने अवैध मदिरा, नशालु औषधि र विष्फोटक पदार्थको ओसारपसार नियन्त्रणमा विशेष निगरानी राख्ने बैठकले निर्णय गरेको छ।

उक्त बैठकमा नेपालका तर्फबाट बारा र पर्साका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो भने भारतीय पक्षबाट पूर्वी र पश्चिम चम्पारणका डिस्ट्रीक मेजिस्ट्रेट (डीएम) लगायतका सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको थियो।

Leave a review