पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

साझेदारी डेलि
170 पाठक संख्या

कलैया । नवनियुक्त सरकारले जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।

प्रहरीले नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिएको हो। प्रहरी टोलीले उनलाई ‘जरुरी पक्राउ पुर्जी’ थमाउँदै हिरासतमा लिएको बताइएको छ।

त्यसैगरी, पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि शनिबार बिहान ५:४० बजे भक्तपुरकै कटुन्जेबाट पक्राउ गरिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सशस्त्र प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिएको हो। दुवै नेतालाई फौजदारी मुद्दामा थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

यो पक्राउको सिलसिला शुक्रबार साँझ बसेको नवनियुक्त मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णयसँग जोडिएको छ। सरकारले भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति र राज्य पक्षबाट भएको दमनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

उक्त प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई कर्तव्य पालनामा लापरवाही गरेको र मानव अधिकार उल्लंघनमा जिम्मेवार ठहर्‍याउँदै फौजदारी अनुसन्धानको सिफारिस गरेको थियो।

Leave a review