बारा । डिभिजन वन कार्यालय बाराले महेन्द्र राजमार्ग अन्तर्गत पथलैया–अमलेखगञ्ज–चुरियामाई मन्दिरसम्मको क्षेत्रमा पर्ने वन अतिक्रमण हटाउन ३ दिने सूचना जारी गरेको छ।
वन कार्यालयले वन ऐन २०७६ को दफा ४९ (ग) विपरीत वन क्षेत्रभित्र अनाधिकृत रूपमा घरटहरा निर्माण गरी बसोबास तथा व्यवसाय सञ्चालन भइरहेको उल्लेख गर्दै त्यस्ता संरचना ३ दिनभित्र हटाउन निर्देशन दिएको हो।
सूचनाअनुसार तोकिएको समयभित्र अतिक्रमण खाली नगरेमा प्रचलित कानुन बमोजिम जबर्जस्ती हटाइने, सो क्रममा लागेको खर्च र वन ऎन २०७६ ले तोके अनुसारको सजाय दुबै हुन सक्ने जनाइएको छ।
उक्त अतिक्रमित क्षेत्रको चारकिल्ला पूर्वमा वन क्षेत्र र दुधौरा नदी, पश्चिममा पर्सा राष्ट्रिय निकुञ्ज, उत्तरमा चुरियामाई मन्दिर र दक्षिणमा पथलैया चोक रहेको जनाइएको छ।
डिभिजन वन कार्यालय बाराका निमित्त डिभिजनल वन अधिकृतद्वारा जारी सूचनामा सबै सम्बन्धितलाई समयमै अतिक्रमण हटाउन अनुरोध गरिएको छ।

