फास्ट ट्र्याकको क्षतिपूर्ति वृक्षारोपण अब वन कार्यालयको जिम्मामा : पाँच वर्षसम्म सेनाले संरक्षण गरेका ७ लाखभन्दा बढी बिरुवा औपचारिक रूपमा हस्तान्तरण

साझेदारी डेलि
41 पाठक संख्या

निजगढ । काठमाडौं–तराई-मधेश द्रुतमार्ग निर्माणका क्रममा बारा जिल्लामा काटिएका वन क्षेत्रको क्षतिपूर्ति स्वरूप रोपिएका सात लाखभन्दा बढी बिरुवाको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी अब डिभिजन वन कार्यालय बाराले सम्हाल्ने भएको छ।

नेपाली सेनाले पाँच वर्षसम्म संरक्षण र व्यवस्थापन गर्दै आएको वृक्षारोपण क्षेत्र बुधबार आयोजित कार्यक्रमबीच डिभिजन वन कार्यालय बारालाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो। कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख सुजितकुमार झा, नेपाली सेनाका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो।

काठमाडौं–तराई÷मधेश द्रुतमार्ग निर्माणका लागि बारामा २८ हजार ६१९ वटा रुख कटान गरिएको थियो। त्यसबाट परेको वातावरणीय प्रभावलाई न्यूनीकरण गर्न प्रचलित कानुनी व्यवस्थाअनुसार क्षतिपूर्ति स्वरूप नेपाली सेनाले जिल्लाका विभिन्न स्थानमा ७ लाख ५ हजार ५ सय ५२ वटा बिरुवा रोपेको थियो।

वृक्षारोपणपछि ती बिरुवाको पाँच वर्षसम्म नियमित संरक्षण, गोडमेल, सिँचाइ, घेराबार तथा अन्य व्यवस्थापनको जिम्मेवारी सेनाले नै निर्वाह गर्दै आएको थियो। संरक्षण अवधि पूरा भएपछि ती क्षेत्रको दीर्घकालीन संरक्षण तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो।

डिभिजन वन कार्यालयले हस्तान्तरण गरिएका वृक्षारोपण क्षेत्रको नियमित अनुगमन, संरक्षण र आवश्यक व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ। बिरुवाको वृद्धि, संरक्षण र वन क्षेत्रको दिगोपन सुनिश्चित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने कार्यालयको भनाइ छ।

कार्यक्रमका वक्ताहरूले राष्ट्रिय गौरवका पूर्वाधार आयोजनाले आर्थिक तथा भौतिक विकासमा टेवा पु¥याए पनि त्यसबाट वातावरणमा पर्ने असर न्यूनीकरण गर्न क्षतिपूर्ति वृक्षारोपणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु अपरिहार्य रहेको धारणा व्यक्त गरे। उनीहरूले यस्ता वृक्षारोपणले हरियाली विस्तार, जैविक विविधताको संरक्षण, माटो कटान नियन्त्रण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा दीर्घकालीन योगदान पुग्ने विश्वास व्यक्त गरे।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माणाधीन काठमाडौं–तराई-मधेश द्रुतमार्गसँग जोडिएको यो वृक्षारोपण कार्यक्रम विकास र वातावरणीय संरक्षणबीच सन्तुलन कायम गर्ने अभ्यासका रूपमा समेत हेरिएको छ।

Leave a review

This will close in 0 seconds