जीतपुरसिमरामा सामुदायिक विद्यालयका शिक्षकलाई निजी स्कुलमा पढाउन कडाइ

रञ्जन यादव
38 पाठक संख्या

जीतपुर । जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकले निजी तथा संस्थागत विद्यालयमा समेत अध्यापन गरिरहेको विषयलाई लिएर कडाइ थालेको छ। नियमविपरीत दोहोरो रूपमा अध्यापन गरिरहेको पाइए कारबाही गर्ने चेतावनीसहित उपमहानगरपालिकाले पूर्व स्वीकृति लिन निर्देशन जारी गरेको हो।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शनिबार सूचना जारी गर्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले आफू बहाल रहेको विद्यालयबाहेक अन्य शैक्षिक संस्थामा अध्यापन वा अन्य काम गर्नुअघि सम्बन्धित निकायबाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने स्पष्ट गरेको छ।

शाखा प्रमुख हरिशप्रसाद भट्टद्वारा जारी सूचनामा शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम १३३ को उपनियम (१) को खण्ड (ज) अनुसार शिक्षकले पूर्व स्वीकृतिबिना अन्यत्र सेवा दिन नपाउने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ।

यसै व्यवस्थालाई कार्यान्वयन गर्दै उपमहानगरपालिकाले हाल निजी तथा संस्थागत विद्यालयमा अध्यापन गरिरहेका सामुदायिक विद्यालयका शिक्षकलाई कानुनबमोजिम स्वीकृति लिएर त्यसको प्रमाणसहितको विवरण साउन २५ गतेभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउन निर्देशन दिएको छ।

उपमहानगरपालिकाले तोकिएको समयभित्र स्वीकृति नलिने वा विवरण पेश नगरी निजी विद्यालयमा अध्यापन गरिरहेको भेटिए शिक्षा नियमावलीअनुसार अनुशासनात्मक तथा कानुनी कारबाही अघि बढाइने जनाएको छ। शिक्षकको पेशागत जिम्मेवारीलाई थप उत्तरदायी बनाउने, सामुदायिक विद्यालयमा नियमित पठनपाठन सुनिश्चित गर्ने तथा शिक्षा क्षेत्रमा कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले यो निर्णय गरिएको उपमहानगरपालिकाको भनाइ छ।

Leave a review

This will close in 0 seconds