नाबालिगलाई मदिरा बेच्न रोक लगाउन वाणिज्य संघको कडा आग्रह

रञ्जन यादव
82 पाठक संख्या

जीतपुर । १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई मदिरा तथा अन्य नशालु पदार्थ बिक्री भइरहेको गुनासो बढ्न थालेपछि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले स्थानीय व्यवसायीलाई कानुनको पूर्ण पालना गर्न कडा निर्देशन दिएको छ।

संघले बुधबार सार्वजनिक गरेको सूचनामार्फत होटल, रेस्टुरेन्ट, बार, किराना तथा मदिरा बिक्री गर्ने सबै व्यावसायिक प्रतिष्ठानलाई नाबालिगलाई मदिरा, सुर्तीजन्य पदार्थ, लागुऔषध तथा अन्य नशालु वस्तु बिक्री–वितरण नगर्न सचेत गराएको हो।

संघका महासचिव प्रकाश गिरिले जारी गरेको सूचनामा उमेर नपुगेका व्यक्तिलाई मदिरा वा अन्य नशालु पदार्थ बिक्री गर्नु प्रचलित कानुनविपरीत हुने उल्लेख गरिएको छ। यस्तो लापरबाहीले किशोर–किशोरीमा दुव्र्यसन बढ्नुका साथै चोरी, लुटपाट, झैझगडा, सार्वजनिक शान्ति भंग, यौनजन्य हिंसा र घरेलु हिंसाजस्ता सामाजिक तथा आपराधिक घटना बढ्न सक्ने भन्दै व्यवसायीलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

संघले ग्राहकको उमेरबारे शंका लागेमा मदिरा बिक्री गर्नुअघि नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा अन्य आधिकारिक परिचयपत्र अनिवार्य रूपमा हेरेर मात्र बिक्री गर्न सुझाव दिएको छ। यसले कानुनी जोखिम घटाउनुका साथै जिम्मेवार व्यवसाय सञ्चालनमा सहयोग पुग्ने विश्वास संघको छ।

त्यस्तै, सबै व्यवसायीलाई नेपाल सरकारका प्रचलित कानुन, मापदण्ड तथा इजाजतपत्रसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ। सूचनाको बेवास्ता गर्दै नाबालिगलाई मदिरा वा अन्य निषेधित पदार्थ बिक्री गरेको पाइए सम्बन्धित व्यवसायीको विवरण सरकारी निकायमा पठाई कानुनबमोजिम जरिवाना, इजाजतपत्र निलम्बन वा रद्द गर्नेसम्मका कारबाहीका लागि सिफारिस गरिने चेतावनी पनि संघले दिएको छ।

संघले पछिल्लो समय सम्बन्धित सरकारी निकायले मदिरा तथा नशालु पदार्थको अवैध बिक्री–वितरणमाथि अनुगमन कडा बनाएको उल्लेख गर्दै व्यवसायीलाई कानुनको पालना गर्दै सुरक्षित, अनुशासित र सामाजिक उत्तरदायित्वयुक्त व्यावसायिक वातावरण निर्माणमा सहयोग गर्न आग्रह गरेको छ।

व्यवसायी र सरोकारवालाबीच सचेतना अभिवृद्धि भए मात्र किशोर–किशोरीमा बढ्दो दुव्र्यसन नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गर्दै संघले सबै सदस्यलाई जिम्मेवारीपूर्वक व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ ।

Leave a review