बारामा विद्यालयका बेरुजु फछ्र्यौटमा स्थानीय तहसँग समन्वय बढाइने

साझेदारी डेलि
42 पाठक संख्या

कलैया । बाराका स्थानीय तह र विद्यालयमा वर्षौंदेखि कायम रहेका बेरुजु फछ्र्यौटसँगै शिक्षा क्षेत्रका बाँकी कामलाई प्रभावकारी बनाउन सरोकारवालाबीच छलफल भएको छ। शिक्षा विकास तथा समन्वय एकाइ बाराको आयोजनामा कलैयास्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयमा मंगलबार आयोजित अन्तरक्रियामा शिक्षा क्षेत्रका समस्या, योजना कार्यान्वयन र सुधारका उपायबारे छलफल गरिएको हो।

अन्तरक्रियामा स्थानीय तहका शिक्षा प्रमुख तथा शिक्षा अधिकृत, संस्थागत विद्यालयका संस्थापक तथा आधारभूत र माध्यमिक तहका प्रधानाध्यापक सहभागी थिए। सहभागीले आफ्नो तहमा देखिएका शैक्षिक समस्या तथा चुनौतीबारे अनुभव आदानप्रदान गर्दै समाधानका सम्भावित उपायबारे छलफल गरेका थिए।

कार्यक्रममा विभिन्न आर्थिक वर्षमा स्थानीय तह र विद्यालयमा कायम रहेका बेरुजु फछ्र्यौट गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो। त्यससँगै गाउँ तथा नगर शिक्षा योजना निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा पनि सहभागीबीच धारणा आदानप्रदान भएको थियो।

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन हुन बाँकी रहेका स्थानीय तहको अवस्था, जिल्लालाई साक्षर घोषणा गर्ने प्रक्रिया तथा त्यसका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको आयोजकले जनाएको छ।

शिक्षा विकास तथा समन्वय एकाइ बाराका अनुसार स्थानीय तहसँगको सहकार्यमा शिक्षा क्षेत्रका कार्यक्रमलाई प्रभावकारी बनाउन र बाँकी कामलाई प्राथमिकताका साथ अघि बढाउन कार्यक्रम आयोजना गरिएको हो। बेरुजु फछ्र्यौट, शिक्षा योजना कार्यान्वयन तथा अनिवार्य र निःशुल्क शिक्षा सुनिश्चित गर्ने कामलाई तीव्रता दिँदै जिल्लालाई साक्षर घोषणा गर्ने प्रक्रियालाई अघि बढाउनेमा कार्यक्रमले जोड दिएको थियो।

Leave a review