तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

रासस
99 पाठक संख्या

काठमाडौँ । पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु २७ करोड ८५ लाख बराबरको राजस्व छलिका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरीले उक्त परिमाणको किराना सामान, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवयर, मोटरपाट्र्स तथा शृङ्गारका सामग्रीलगायत सामान बरामद गरेको हो । ती सामान ओसारपसारमा संलग्न १० करोड २२ लाखभन्दा बढी मूल्यको सवारीसाधनसमेत नियन्त्रणमा लिइ भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सोही अवधिमा ३० लाखभन्दा बढीको एक हजार १०० क्युफिट काठ र १०२ ग्राम चाँदी पनि बरामद भएको छ । अवैध ओसारपसारमा संलग्न ८४ जनालाई कारबाही गर्न सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । मधेस प्रदेशका सीमावर्ती इलाकामा हुने लागुऔषध ओसारपसार रोक्न सशस्त्र प्रहरी खटिएको सहप्रवक्ता थापाले जानकारी दिनुभयो । तीन महिनामा ब्राउन सुगर १९३ ग्राम, चरेस ९ किलो ५०० ग्राम र गाँजा एक हजार ६०६ किलोभन्दा बढी बरामद भएको छ ।

सो अवधिमा तीन वटा कटुवा पेस्तोल, दुई थान सिक्सर–२ थान भरुवा बन्दुक तथा सोको राउण्ड र बारुदसमेत बरामद गरिएको छ । त्यस्तै, मानव वेचविखनको आशंकामा २९ जना महिला र ३० जना पुरुषलाई नियन्त्रणमा लिइएको छ ।

साम्प्रादयिक प्रदर्शन, बलत्कार घटना, सीमापार अपराध, विपद् व्यवस्थापन तथा लागुऔषध नियन्त्रणलगायतका कामकारबाहीमा सशस्त्र प्रहरी बलले अन्य सुरक्षा निकाय तथा स्थानीय सरकारसँग समन्वय गरी काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सीमा चिन्हहरूको डिजिटल रेकर्ड तथा भौतिक अवस्थाको अद्यावधिक गर्नुकासाथै समकक्षी भारतीय सुरक्षा निकायसँग समन्वय गरी सीमा पिलरको मर्मतसम्भारमा सशस्त्र प्रहरी खटिँदै आएको छ ।

दशगजा क्षेत्रको सुरक्षा, सीमा अतिक्रम रोक, अतिक्रमिक क्षेत्र खाली गराउने कार्यमा समकक्षीहरूसँग निरन्तर समन्वय भइरहेको छ ।

Leave a review