बारा । बारामा खानेपानी तथा सिँचाइसम्बन्धी समस्या समाधान गर्न सम्बन्धित निकायसँग समन्वय र फलोअपलाई निरन्तरता दिइएको छ।
पूर्वाधार विकास मन्त्रालयका मन्त्री सल्लाहकार सन्तोष पाण्डे, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना वीरगञ्जका कार्यालय प्रमुख विपुललाल दास, स्थानीय जनप्रतिनिधि तथा स्थानीय टोलीसहितको सहभागितामा बाराका विभिन्न स्थानमा खानेपानी तथा सिँचाइसम्बन्धी समस्या र अधुरा आयोजनाको स्थलगत अनुगमन गरिएको हो।
अनुगमनका क्रममा बडहर्वा र तेलकुवा खानेपानी आयोजना एक महिनाभित्र सम्पन्न गर्ने विषयमा आवश्यक पहल तथा निर्देशन गरिएको छ। त्यस्तै, पर्सा टोलका दलित बस्तीमा खानेपानीको व्यवस्था गर्ने तथा कलैया दरबार आसपास र कलैया–१० मटिअर्वामा खानेपानीको वैकल्पिक व्यवस्था गर्ने विषयमा समेत पहल अघि बढाइएको छ। त्यसैगरी, महागढीमाई नगरपालिका–२ इनर्वामा सिँचाइका लागि आवश्यक ट्रान्सफर्मर १० दिनभित्र जडान गर्न पहल गर्ने निर्णय भएको छ।
गढीमाई क्षेत्रमा देखिएको खानेपानी समस्या समाधानका लागि आवश्यक पहल गर्नुका साथै रु. ७ हजार सेवा शुल्क नलिने निर्णयसमेत गरिएको जनाइएको छ। अनुगमनका क्रममा छुटेका वा थप पहिचान भएका खानेपानी तथा सिँचाइसम्बन्धी समस्या आगामी १५ दिनभित्र संकलन गरी समाधानका लागि आवश्यक पहल अघि बढाइने बताइएको छ।


