सूर्तिजन्य तथा लागु औषध पदार्थ सेवन न्यूनिकरण सम्बन्धी अभिमुखिकरण तथा पैरवी कार्यक्रम सम्पन्न

संदिप प्रसाद यादव
303 पाठक संख्या

बाराको कलैयामा सूर्तिजन्य तथा लागु औषध पदार्थ सेवन न्यूनिकरण सम्बन्धी अभिमुखिकरण तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ ।

बाराको कलैयामा रहेको करण राज पार्टी प्यालेसको सभा हलमा स्वास्थ्य कार्यालय बाराको आयोजनामा बुधबार सूर्तिजन्य तथा लागु औषध पदार्थ सेवन न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा पैरवी कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले सूर्तिजन्य तथा लागु पदार्थको सेवनमा बालबालिकाहरु सजिलै पर्न सक्ने जनाए ।
दुर्घटना,बलात्कार जस्ता घटनाको मुख्य कारण पनि कुलत नै हो।

हामीले आफ्नो तर्फबाट पुरै कोसिस गरिरहेका छौं। आम नागरिकहरू र अभिभावकहरु पनि यो विषयमा चनाखो भइदिए यस्तो घट्ना हदैसम्म कम हुन सक्छ उनले भने ।

“सडक दुर्घट्ना हुनुको मुख्य कारण पनि लागुपर्दाथको सेवन नै हो।“ जिल्लामा पछिल्लो समय बढ्दै गईरहेको सवारी दुर्घटनालाई इंगित गर्दै उनले भने।

सूर्तिजन्य एवम् लागु पदार्थको कुलतमा बालबालिकाहरु परिरहेको र दिनदिनै यो संख्या बढ्दै गईरहेको भन्दै जिल्ला प्रशासन कार्यालय बाराको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले दुख व्यक्त गरेका छन् ।

विश्वभर एक वर्षमा ८० लाख मानिसको मृत्यु सूर्तिजन्य पदार्थको सेवनले हुने गरेको छ। जसमध्ये १२ लाख जना सूर्तिजन्य पदार्थको सेवन नगर्ने तर सेवन गर्नेको सम्पर्कमा बसिरहेको दोस्रो पक्षको मृत्यु हुने गरेको छ।

नेपालमा हुने मृत्यु प्रतिशतको १४.९ प्रतिशत मृत्यु सूर्तिजन्य पदार्थको सेवनले हुन्छ । अर्थात वर्षभरिमा २७ हजार एक सय ३७ मृत्यु सूर्तिजन्य पदार्थको सेवनले हुन्छ।

सूर्तिजन्य तथा लागु पदार्थको सेवन गर्ने युवाहरुको संख्या पनि नेपालमा त्यस्तै छ। १५ देखि ६९ वर्ष उमेर समूहका २८.९ प्रतिशत युवाहरु कुनै न कुनै प्रकारको सूर्तिजन्य पदार्थको सेवन गरिरहेका छन्।

उक्त प्रतिशतको ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला सूर्तिजन्य पदार्थको सेवन गरिरहेकाछन्। यस्तै १७.१ प्रतिशत मानिस‌ धुवाँको रुपमा सूर्तिजन्य पदार्थको सेवन गर्छन्।

अर्थात् २८ लाख मानिस धुवाँको रुपमा सूर्तिजन्य पदार्थको सेवन गरिरहेका छन्। नेपालमा २८ प्रतिशत पुरुष र ७.५ प्रतिशत महिला सूर्तिजन्य पदार्थको सेवन धुवाँको रुपमा गर्छन् ।

मानिसले सेवन गर्ने सिग्रेटमा मात्र ७ हजार ३ सय ५७ प्रकारका केमिकल पाईन्छ। जसमध्ये ७० प्रकारको केमिकल अर्बुद ( क्यान्सर ) रोग गराउने खालका हुन्छन् । सूर्तिजन्य पदार्थको सेवनले मष्तिस्क,फोक्सो,हाड,मुटु,दात सम्बन्धी रोग लाग्ने गर्छ।

उक्त कार्यक्रममा श्री ज्वालादल गणका सेनानी बसन्त सापकोटा,खानेपानी तथा सब डिभिजन कार्यालय बाराका निमित्त डिस्टिक प्रमुख किशोरी प्रसाद यादव,राष्ट्रिय अनुसन्धान उप– निर्देशक बाराका रामबाबु चौधरी,होटल व्यवसायी संघका प्रतिनिधि आशिष रेग्मी तथा सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

सो कार्यक्रमको प्रशिक्षण जितपुर सिमरा उपमहानगरपालिका का स्वास्थ्य शाखा प्रमुख रबिकुमार भाष्करले गरेका थिए भने कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय बाराका भागरित चौधरीले गरेका थिए ।

Leave a review

This will close in 0 seconds