राष्ट्रिय दलित पत्रकार संघ नेपाल पर्साको दोस्रो अधिवेशनबाट आए पासवान

साझेदारी दैनिक
258 पाठक संख्या

राष्ट्रिय दलित पत्रकार संघ पर्साको अध्यक्षमा श्याम पासवान दोहोरिएका छन् । वीरगञ्ज गेटवे होटलमा शनिबार सम्पन्न संघको दोस्रो अधिवेशन पछिको बन्दसत्रले पासवानलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

पासवान नव हिमालयन टाइम्सका प्रकाशक रहेका हुन् । उपाध्यक्षमा सुरेश बादल र सचिवमा सूर्यनारायण वि.क. दोहोरिएका छन् । बादल तराई न्युजमा आवद्ध छन् ।

सूर्य यात्रा डेलीका सह सम्पादक हुन् ।सहसचिवमा सुशिल हजरा चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा निला राम,सदस्यहरुमा संगीता दास,धर्मेन्द्र राम,बिपिन महरा,सिद्धार्थ बादल,सुजिता कुमारी, आशिका कुमारी,रामबाबु राम चयन भएका हुन् ।

बन्द सत्रबाट बृजलाल पासवान,बिनोद परियार र सुभाष रामलाई सल्लाहकारमा मनोनित गरेको छ ।

यस अघि संघको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानले दलित शब्द आफैमा सम्मानजनक शब्द भएको बताउदै शब्द समस्या नभएको बताए ।

उनले पहिचान र गौरव गर्ने विषयमाथि टिप्पणी नगर्न सचेत गराउदै संविधानले नै स्वीकार गरीसकेको शब्दमाथि गलत विश्लेषण गर्न नहुने बताए ।

संविधानले उल्लेख गरेका दलित अधिकारका सवाललाई अझै सशक्त ढंगले कार्यन्वयनका लागि खबरदारी र ध्यानाकर्षण गराउनुपर्ने उनको कथन थियो । दलित समुदायका व्यक्तिलाई अघि बढेको यो समाजलाई नपच्ने गरेको धारणा राखे ।

दलित समुदायका क्रियाशिल पत्रकारको नाम पनि नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले सदस्यता हटाउने षड्यन्त्रप्रति उनले आपत्ती जनाएका छन् ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले दलित पत्रकार संघ पर्साका सल्लाहकार बृजलाल पासवानको नाम नथपेसम्म महासंघको अधिवेशन नगर्ने अडान राख्दै दलित समुदायको प्रतिनिधित्व गराउने सवालमा सकारात्मक रहेको जनाए ।

गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार समेत प्रदान गरेका व्यक्तिको नाम सदस्यताबाट केन्द्रीय समितिले हटाएको जनाउदै नाम नथपेसम्म पर्सामा अधिवेशन नै नगर्ने उनले उद्घोष गरे ।संख्यात्मक हिसाबले कम भएपनि थोरैबाटै सुरुवात गरेर बलियो उपस्थिति बनाउनुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सचिव सिकेन्द्र पासवानले दलितका मुद्दा उठान मात्रै नभएर समस्याका सम्बोधनका लागि पनि काम गर्दै आएको जनाए ।

महासंघले जारी गरेको अन्तिम नामावलीमा पर्सासँगै रौतहट,धनुषा, सप्तरी लगायतका क्षेत्रका दलित पत्रकारको नाम हटाएकोमा आपत्ति व्यक्त गर्दै संघको केन्द्रीय समितिले महासंघको विरुद्धमा विज्ञप्ती जारी गरीसकेको जनाए । उनले अन्तिम सूची नसच्याएमा आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।

दलित पत्रकार संघ पर्साका सल्लाहकार बृजलाल पासवानले पत्रकारितामा दलित समुदायको प्रतिनिधीत्व बनाउनका लागि संघले काम गरिरहेको बताए ।

दलित पत्रकारको क्षमता अभिवृद्धि एवम् नयाँलाई प्रवेश गराएर पत्रकारितामा दलितको उपस्थिति बढाउने योजना रहेको उनले बताए ।

नेपाल प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्य प्रकाश श्रेष्ठ,प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतम,समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु सुमन,राष्ट्रिय दलित पत्रकार संघ बाराका अध्यक्ष निखिल पासवान लगायतले पत्रकारिता मर्यादित हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य मनोज पटेल, नेपाल पत्रकार महासंघ बाराका पूर्व उपाध्यक्ष राकेश पाण्डेय, समाजवादी प्रेस संगठन मधेश प्रदेशका सचिव रमेश सुवेदी,वीरगञ्ज महानगरपालिकाका अधिकृत शम्भु पासवान,नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य राजकुमार पासवान लगायतको विशेष उपस्थिति रहेको थियो ।

राष्ट्रिय दलित पत्रकार संघ पर्साका उपाध्यक्ष सुरेश बादलले स्वागत गरे । कार्यक्रमको सहजीकरण सचिव सूर्यनारायण वि.क.को थियो ।

Leave a review