ट्राफिक प्रमुख सिलवालद्वारा चोरीको गाडी निजी रुपमा प्रयोग गरेको खुलासा

साझेदारी दैनिक
430 पाठक संख्या

रौतहट : मधेस प्रदेशका ट्राफिक प्रमुख राजकुमार सिलवाल पुनः चोरीको गाडी काण्डमा मुछिएका छ्न्। एसपी सिलवालले मधेश प्रदेशका ट्राफिक प्रहरी कार्यालयहरूलाई आय–आर्जन गर्ने माध्यमका रूपमा प्रयोग गर्न खोजेको आरोप लागेको छ।

मातहत कार्यालय तथा ट्रक व्यवसायीहरूसँग मासिक रकम असुल्दै आएको गुनासो आएपछि विशेष अनुसन्धान गरिएको हो। प्रारम्भिक चरणमै सिलवालले मातहत कार्यालय र भारतीय ट्रक, भुस बोकेका ट्रक तथा ट्रक व्यवसायीहरूसँग नियमित रकम लिँदै आएको अनुसन्धानमा खुलेको हो।

पथलैया बहेक अन्य स्थानमा भारतिय सवारीहरु प्रयोग गर्न नपाउने तथा बिभिन्न यतायत व्यवसायीहरूसंग मासिक रकम लिने गरेका जस्ता प्रमाण फेला परेको थियो। अनुसन्धानका क्रममा सिलवालले चोरीको गाडीलाई निजी सवारीका रूपमा प्रयोग गर्दै आएको तथ्यसमेत खुल्न आएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जाँचका क्रममा प्र ३–०१–०२२ च ०९६८ नम्बरको निजी जिप बरामद गरी २०८२ असार १८ गते थप अनुसन्धानका लागि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया पठाएको थियो। कानुन अनुसार आवश्यक प्रक्रिया अघि नबढाई सिलवालले उक्त जिपलाई आफ्नै सवारीझैँ प्रयोग गर्न थालेको स्रोतले जानकारी दिएको छ।

बरामद जिपलाई उनले जीतपुरसिमार उपमहानगरपालिका– २ स्थित भोला मोटर्स वर्कशपमा करिब एक लाख रुपैयाँ बराबरको मर्मत गराएका थिए। भुक्तानीका लागि जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको अर्कै गाडीको नम्बर प्रयोग गरी रकम तिर्ने तयारी गरेको उपमहानगरपालिकाका एक अधिकारीले बताए।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक सिलवाल हुन्। प्रदेश प्रहरी कार्यालय जनकपुरले समेत बीचमै रोकिएको अनुसन्धानलाई पुनः सुरु गर्ने तयारी गरेको जानकारी दिएको छ।

Leave a review