बारा । जनमत पार्टीका केन्द्रीय सदस्य एवम् युवा नेता सुजित पाण्डेयको असामयिक मृत्यु प्रकरणलाई लिएर बाराका राजनीतिक दल, समाजसेवी, उद्योगी–व्यवसायी, युवा, विद्यार्थी तथा नागरिक समाजले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न संयुक्त रूपमा प्रशासनको ध्यानाकर्षण गराएका छन्।

बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा बिहीबार राति कलैयाबाट बघवनतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरेको थियो।
तर, नागरिक समाज र विभिन्न क्षेत्रका प्रतिनिधिहरूले संयुक्त हस्ताक्षरसहित जारी गरेको विज्ञप्तिमा पाण्डेयको मृत्युको घटना अत्यन्तै रहस्यमयी रहेको दाबी गर्दै यसले आम नागरिकमा डर, त्रास र असुरक्षाको वातावरण सिर्जना गरेको उल्लेख गरेका छन्।

सर्वपक्षीय प्रतिनिधिहरूले ६ बुँदे प्रमुख मागहरू अघि सार्दै घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावरहित छानबिन गर्न, सम्पूर्ण तथ्य र प्रमाणहरू संकलन गरी सत्यतथ्य एवम् स्पष्ट कारण सर्वसाधारणसमक्ष पारदर्शी रूपमा सार्वजनिक गर्न आग्रह गरेका छन्।
साथै, बारा जिल्लामा पछिल्लो समय बढ्दै गएका आपराधिक गतिविधि, हिंसा तथा असुरक्षा नियन्त्रण गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी-प्रशासनसँग माग गरिएको छ। विज्ञप्तिमार्फत पीडित परिवारलाई अविलम्ब न्याय, सुरक्षा र आवश्यक सहयोग उपलब्ध गराउन जोड दिइएको छ।
नागरिक समाज तथा राजनीतिक दलहरूले यो माग कुनै व्यक्ति, दल वा समुदायविरुद्ध नभई कानुनी शासन, सत्यतथ्य स्थापना र शान्ति-सुरक्षाका लागि सञ्चालन गरिएको साझा अभियान भएको स्पष्ट पारेका छन्।
जिल्लामा सामाजिक सद्भाव जोगाउन तथा राज्यप्रतिको विश्वास पुनःस्थापित गर्न सम्बन्धित सबै पक्षलाई गम्भीर र संवेदनशील बन्न अपिल गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरिएको छ।


