बारामा मोटरबाट पानी खाने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

साझेदारी डेलि
138 पाठक संख्या

बारा । बाराको पचरौता नगरपालिका–८ बाजोपटीमा मोटर जडान गरिएको धाराबाट पानी खाने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महागढीमाई नगरपालिका–८ बेतौनाका हकबुला देवानका अन्दाजी २५ वर्षीय छोरा राजु देवान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार साँझ करिब ६ बजे पचरौता–८ बाजोपटीस्थित साथी दुर्गा प्रसाद यादवको घरमा मोटर जडान गरिएको धाराबाट पानी खाने क्रममा देवानलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका उनलाई दुर्गा प्रसादका भाइ बालेश्वर यादवले एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याएका थिए । अस्पतालमा चिकित्सकले ईसिजी परीक्षण गरेपछि साँझ ६ः४५ बजे उनलाई मृत घोषणा गरेका थिए ।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट लंगडा चौकबाट प्रहरी सहायक निरीक्षक बहादुर बस्नेत र इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक सबिन कुमार कार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले घटनास्थल मुचुल्कासहित थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।

उनका अनुसार मृतकको शव प्रादेशिक अस्पताल कलैयाको शवगृहमा राखिएको थियो । आइतबार पोस्टमार्टमपछि मृतकका दाइ इजहारुल देवानले शव बुझेर लगेको प्रवक्ता घलेले जानकारी दिए ।

Leave a review