२५० रुपैयाँ दैनिकमा अतिरिक्त हुलाकको काम : श्रमअनुसारको सुविधा उपलब्ध गराउन सरकारसँग माग

Subash Kumar Mishra
56 पाठक संख्या

रौतहट । रौतहटका अतिरिक्त हुलाक कर्मचारीले लामो समयदेखि न्यून पारिश्रमिकमा काम गर्नुपरेको भन्दै श्रमअनुसारको सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

उनीहरूका अनुसार अहिले बिहान ९ देखि साँझ ५ बजेसम्म कार्यालयमा काम गर्नुपर्ने भए पनि मासिक ७ हजारदेखि ८ हजार रुपैयाँ हाराहारी मात्रै पारिश्रमिक पाउने गरेका छन्। यसले दैनिक खर्च चलाउनसमेत कठिन भएको कर्मचारीहरूको गुनासो छ।

फतुवा विजयपुर नगरपालिका–२ दुधियास्थित इलाका हुलाक कार्यालयका अतिरिक्त हुलाक कर्मचारी तथा पत्रवितरक आनन्द पौडेलले आफू २० वर्षदेखि सेवामा रहे पनि पारिश्रमिक र सेवा–सुविधामा अपेक्षित सुधार नभएको बताए।

मिठुअबा अतिरिक्त हुलाककी पत्रवितरक बिमला देवीले १२ वर्षदेखि काम गरे पनि ७ हजार २ सय रुपैयाँको पारिश्रमिकले परिवार धान्न मुस्किल भएको बताइन्।

कर्मचारीहरूले पोसाक तथा आवश्यक सामग्री जुटाउनसमेत समस्या रहेको जनाएका छन्। आफूहरूलाई बेवास्ता गर्दै विभिन्न स्थानीय तहमा करार कर्मचारी राख्दा राज्यको खर्च बढेको उनीहरूको भनाइ छ।

काम गर्ने समय बढे पनि पारिश्रमिकमा सुधार नभएको भन्दै अतिरिक्त हुलाक कर्मचारीले उचित पारिश्रमिक र सेवा–सुविधाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

Leave a review