‘कोडदेखि कांग्रेससम्म’ : प्रविधि र विज्ञतासहित कांग्रेस केन्द्रीय सदस्यमा ई. सुदर्शन शर्माको उम्मेदवारी

साझेदारी डेलि
50 पाठक संख्या

काठमाडौं । नेपालको एक विकट गाउँको सरकारी विद्यालयबाट शिक्षा सुरु गरेका इन्जिनियर सुदर्शन शर्मा अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन् । पेशागत क्षेत्रबाट उम्मेदवारी दिएका शर्माले आफ्नो शिक्षा, विद्यार्थी आन्दोलन, सामाजिक सेवा र प्रविधिको अनुभवलाई पार्टी रूपान्तरणमा प्रयोग गर्ने संकल्पसहित उम्मेदवारी अघि सारेका छन् ।

सरकारी विद्यालय हुँदै पुल्चोक क्याम्पसबाट इन्जिनियरिङ तथा स्नातकोत्तर शिक्षा पूरा गरेका शर्मा राज्यले दिएको शिक्षालाई समाजप्रतिको ऋण ठान्छन् । विद्यार्थी जीवनमै नेपाल विद्यार्थी संघसँग जोडिएका उनी पुल्चोक क्याम्पस इकाई सभापति बनेर विद्यार्थीका शैक्षिक मुद्दामा सक्रिय रहे । माग सम्बोधनका लागि आमरण अनशनसम्म बसेको उनको विद्यार्थी राजनीतिको अनुभव छ ।

२०७२ सालको भूकम्पपछि पुनर्निर्माण तथा पुनर्स्थापनाको काममा गाउँ–गाउँ पुगेका शर्माले विपद्को समयमा जनताको वास्तविक समस्या र राज्य संयन्त्रबीचको दूरीलाई नजिकबाट अनुभव गरे । यही अनुभवले उनलाई राजनीतिलाई भाषणभन्दा बढी समस्या समाधान र जनसेवाको माध्यमका रूपमा बुझ्न प्रेरित गरेको उनी बताउँछन् ।

इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ र सूचना तथा सञ्चार इन्जिनियरिङमा अध्ययन गरेका शर्माले आफ्नो प्राविधिक ज्ञानलाई कांग्रेसको संगठन सुधारसँग जोड्ने एजेन्डा अघि सारेका छन्।

डिजिटल सदस्यता, पारदर्शी आन्तरिक निर्वाचन, एआईमा आधारित जनगुनासो प्रणाली, पार्टीका विचार तथा दस्तावेजको डिजिटल भण्डार, तथ्य जाँच, आर्थिक पारदर्शिता र सदस्यको डेटा सुरक्षा उनका प्रमुख प्रस्ताव हुन् । शर्मा प्रविधिसँगै पेशागत विज्ञताको राजनीतिक उपयोगमा पनि जोड दिन्छन् । इन्जिनियर, डाक्टर, शिक्षक, कानुनविद् लगायत विभिन्न पेशागत क्षेत्रको ज्ञानलाई पार्टीको नीति निर्माणमा जोडेर कांग्रेसलाई ज्ञानमा आधारित राजनीतिक संगठन बनाउनुपर्ने उनको धारणा छ ।

बीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद, लोकतन्त्र र राष्ट्रियताको मूल विचारलाई आफ्नो राजनीतिक आधार मान्ने शर्मा प्रविधि र नयाँ पुस्तालाई कांग्रेससँग जोड्नुपर्ने बताउँछन्। उनका लागि प्रविधि विचारको विकल्प होइन, विचारलाई नयाँ समयअनुसार अघि बढाउने माध्यम हो ।

“गाउँको सरकारी विद्यालयदेखि पुल्चोकसम्म, विद्यार्थी आन्दोलनदेखि भूकम्पपछिको पुनर्निर्माणसम्म र कोडदेखि कांग्रेससम्मको यात्राबाट सिकेको कुरा अब पार्टी र समाजका लागि प्रयोग गर्न चाहन्छु,” शर्मा भन्छन् । पेशागत क्षेत्रबाट विज्ञता, विद्यार्थी राजनीतिबाट संघर्ष र प्रविधिबाट समाधान खोज्ने अनुभव बोकेका शर्माले आफ्नो उम्मेदवारीलाई पदभन्दा जिम्मेवारी र योगदानको अवसरका रूपमा प्रस्तुत गरेका छन् ।

Leave a review