वर्षा, कृषि मलखाद, बीऊ, सिंचाई, अन्न उत्पादनमा कमी

साझेदारी दैनिक
659 पाठक संख्या

– चन्द्रकिशोर प्रसाद साह
करीब ५ महिनादेखि वर्षा भएको देखिन्न जसको फलस्वरुप अन्नबाली उत्पादनमा कमी भएको देखिन्छ ।कम्तिमा माघ महिनामा अलिकति भएपनि वर्षा भएमा अन्नबाली निकै फस्टाउँछ । तर फाल्गुन तेश्रो हप्ता हुँदा पनि तराईको मधेशमा वर्षात् हुने छाँट देखिन्न । कतिपय किसानले एक पटक, कोही दुई पटक गहँु, मकै जस्ता बालीमा बोरिंगबाट पानी पटाइएको पाइन्छ ।

पञ्चायतकालमा रसियाद्वारा डिप बोरिंग गाउँ गाउँमा गरिएको थियो जसको यथोचित संरक्षण नगरिएकाले अधिकाँश ती बोरिंग ठप्प भई मानिसहरुले बनाइएका नालाहरु भत्काएर लगेका देखिन्छन् । यस्तै हाल कतैकतै सिंचाईका लागि बोरिंग गरिने कार्य शुरु भएपनि पर्याप्त एवं भरपर्दाे तरिकाले सर्वत्र सुचारु गर्न नसकिएका र साथै नहर, कुलो निर्माणमा कमी भएकाले किसानहरु निकै मर्का रहेकाले करिब ६५ प्रतिशत मानिसहरु कृषिमा आधारित रहेको कृषि प्रधान देश“नेपाल” मा सरकारले कृषकको पीर, मर्का तर्फ अग्रसर भएको पाइँदैन ।

कतिपय किसानहरु वर्षा कै भरमा खेतीपाती गर्ने गरेका देखिन्छन् । वर्षात् नभएकाले तोरी, मसुरीजस्ता विरुवामा कीरा, लाही लागेर नाश भएका छन् । जति जुन रुपमा उत्पादन हुनु पर्ने हो सो रुपमा नभई कमि हुने भएकाले त्यस्ता वस्तुहरुको महँगाई बढ्ने सम्भावना प्रबल हुने देखिन्छ ।

सरकारले समय समयमा मलखाद, बीऊबीजनको सुविधा पर्याउन नसकेकाले कम गुणस्तरीय मल, बीऊहरुको प्रयोग किसानद्वारा गरिएकाले जति उब्जनी हुनुपर्ने हो सोमा कमी रहेको आभास पाइन्छ । केही डिपोहरुमा किफायती मल उप्लव्ध रहेपनि वडाको ध्यानाकर्षणमा कमि, लापरवाहीका कारण समुचित तरिकाले समयमै पुर्याउन नसकिएको बताइन्छ । अतः सरकारले आफ्नै देशमा मलखादको उत्पादनमा बढी जोड दिनुपर्नेतिर अग्रसरता लिनुपर्ने हुन्छ । तर कुर्सी कै तछाड मछाडको भुमरीमा फँसेकाले किसानको पीडामा कसले रुम्लिने? जस्ता प्रसंग जागृत पाइन्छ ।

नेपालमा सयौं नदीहरु यस्ता छन् जसमा कहिल्यै पानी सुक्दैनन् । त्यस्ता नदीहरुबाट नहर निर्माण गर्नुपर्ने देखिन्छ । विभिन्न नदीहरुमा बाँध निर्माण गरी विभिन्न क्षेत्रका खेतीहरुमा सिंचाईका योजना निर्माण कार्यमा स्थानीय एवं प्रान्तीय सरकार ऐक्यवद्ध हुनुपर्दछ जसले गर्दा मधेशको अन्न उत्पादनमा वृद्धि हुन्छ ।

साथै प्रान्तीय सरकारले अन्न खरीद, भण्डारका डिपोहरु हरेक जिल्लामा सञ्चालन गरिनुपर्दछ । नयाँ नयाँ रिसर्च गरी कृषि क्षेत्रलाई यान्त्रिकरणमा जोड दिन, बीऊ उपज बढाउनका लागि सरकारले किसान समक्ष यथोचित रुपमा पुर्याउन सक्नुपर्दछ । यहाँ त काम कम अनि कागजी घोडा बढी तयार गरी माम खाने परम्परा बढी भएकाले किसानहरु मर्माहत भएका देखिन्छन् ।

यस्तै कीटनाशक औषधी प्रयोग सम्वन्धी प्रत्येक गाउँका किसानहरुलाई तालिम प्रदान गरिनु पर्दछ किनकि यहाँका बजारमा अनियन्त्रित तरिकाले छरिएकाले कीटनाशक औषधी प्रयोगको असरबाट विभिन्न तरकारी, अन्न प्रयोगबाट हानी नोक्शानी गरिराखेको पाइन्छ । अतः किसान एवं उपभोक्ता पनि स्वयम् आफै सतर्कता अपनाउनु पर्दछ ।

जलवायु परिवर्तनका कारणले कतै बढी हिऊ खसिरहेको छ भने कतै कम हिऊ परिरहेको छ । कतै कमी पानी भई खडेरी परिरहेको छ त कतै बढी बाढी आइरहेको पाइन्छ । विश्वकै तापमान करिब २ डिग्री बढ्ने क्रममा रहेको छ जसकाकारण आर्टिक महासागरको ग्लेसियर पग्लिएर सागरको पानी बढीरहेको छ । हाम्रो यहाँ पनि होलीको पूर्वसन्ध्यामा नै अन्तिम चैत्रको जस्तो गर्मीको अनुभूति भइरहेको छ ।

जंगल, वन विनाशका कारण झन् गर्मी बढी रहेको छ । दिन प्रतिदिन उद्योग धन्दा, गाडीहरुको संख्या बढिरहेकाले कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, सल्फर डाइअक्साइड, क्लोरोफ्लोरो कार्बनजस्ता हरितगृह ग्याँस उत्सर्जनमा वृढि भएकाले पर्यावरणमा नकरात्मक असर भएको हो । बारामा त झन् ४० वर्षमा पथलैया, पिलुवा, रतनपुरी, टाँगियावस्ती, ककडी, निजगढ, भरतगंज सिंगौल, बागदेव, लाल, तामागढीजस्ता क्षेत्रका वनजंगल फडानी भई गाउँ नगर वस्ती नै निकै विस्तार भएको देखिन्छ ।

हामीलाई थाहा हुनुपर्दछ कि एक जना मानिसलाई दैनिक १६ किलो स्वच्छ अक्सिजन आवश्यक हुन्छ र एउटा ठूलो रुखले एक दिन २.७ किलो मात्रै अक्सिजन दिन्छ । यसरी एक जना मानिस बराबर ६ वटा रुख आवश्यक हुन्छ । अतः हामीले आआफ्ना घर, गाउँ, नगरमा बोट, विरुवा, रुखहरु रोप्नु पर्दछ जसबाट हामीलाई स्वच्छ अक्सिजन प्राप्त होस् । यहाँ त सरकारले वन जंगल, बगैचा, वृक्षरोपणमा कम ध्यान दिने तर फस्टाएको वनजंगललाई फडानी गरी एयरपोर्ट निर्माण, रेलवे ट्राक निर्माण, बाटोघाटो निर्माण जस्ता कार्यमा बढी तल्लिन रहेको बताइन्छ ।

बनजंगलमा डढेलो, आगो लाग्दा, बढी वर्षात् हुँदा जंगली हाती, जनावरहरु गाऊवस्तीमा खानाको जोहो गर्दै प्रवेश गरिरहेकाले बेलावखत मानिसहरु ती जनावरहरुको आक्रमणमा पर्ने गरेका देखिन्छन् । जस्तै भर्खरै टाँगियावस्ती एक जना हाती आक्रमणबाट मृत्युवरण भएका थिए ।

यसरी वनविनाशबाट पर्यावरणमा निकै गम्भिर असर पुग्ने भएकाले वनजंगलको संरक्षण गर्नुका साथै वृक्षरोपण तदारुकता अपनाउनु पर्दछ । एक रुख काटेवापत् २५ वटा नयाँ रुख रोप्नुपर्ने कार्यको प्रत्याभूति प्रदान गर्न सक्नु पर्दछ । कृषकहरुका लागि समुचित व्यवस्थापन गर्न सम्वद्ध निकाय तम्तयार हुनुपर्दछ ।

 

 

Leave a review

This will close in 0 seconds