पञ्चवर्षीय गढीमाई मेला लक्षित सुरक्षा योजना सार्वजनिक

साझेदारी दैनिक
530 पाठक संख्या

कलैया : राजेश कुशवाहा/जिल्ला प्रहरी कार्यालय बाराले श्री गढीमाई पञ्च बर्षीय मेला २०८१ लाई लक्षित गर्दै तयार पारेको सुरक्षा योजना, सुरक्षा चुनौती र रणनीति सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खडकाले बुधबार पत्रकार सम्मेलन गरी पञ्चबर्षीय मेलाको लागि तयार गरिएको सुरक्षा योजना सार्वजनिक गरेका हुन्।

महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरस्थित गढीमाई मन्दिरमा जारी मेलालाई शान्तिपूर्ण,सभ्य एवम् भब्य बनाउनका लागि जनपद प्रहरी १२४१ र ट्राफिक प्रहरी २२५ गरी जम्मा १४६६ जनशक्ति मेला अवधिभर परीचालन गरिने उनले बताए ।

मेला अवधिभर कमाण्ड पोष्ट,रिजर्भ २ वटा,पैदल गस्ती (मेला एरिया) ६ वटा,पिकेट २१ वटा,लाइन व्यवस्थापन,मनोरञ्जन स्थल,बली व्यवस्थापन,मोबाइल गस्ती ६ वटा,मन्दिर परिसर,सादा पोशाक,उद्दार टोली,सञ्चार व्यवस्थापन,स्ट्राइकिङ टोली,भि आई.पी/भि.भि.आई.पी सुरक्षा, पार्किङ्ग डिउटी ६ वटा परिचालन गरिने उनले बताए।

मेलामा चार सय सि.सि. टि.भी क्यामरा मार्फत निगरानी गरिने उनले जानकारी दिए। भारत तथा नेपालका अन्य स्थानबाट पेशेवर चोरी पकेटमारी गर्ने व्यक्तिहरू (चाई) पकेटमारी,चोरी तथा महिलाको गरगहना लुटपाट गर्नसक्ने,मन्दिर परिसर तथा मेला इलाकामा भिड अनियन्त्रित भई दुर्घटना हुनसक्ने तथा अत्याधिक भिडका कारण मानिसको निस्सासिएर मृत्यु हुन सक्ने, भारतबाट आउने मनोरञ्नात्मक कार्यक्रमहरुमा युवतीहरूको पनि सहभागिता रहने र मादक पदार्थ सेवन गरी कार्यक्रम हेर्ने क्रममा झगडाहरू भई शान्ति सुरक्षामा असर पर्नसक्ने,सर्कस, पिङ लगायतका मनोरञ्जनस्थलहरूमा कुनै आकस्मिक दुर्घटना हुन सक्ने मेलाका सुरक्षा खतरा तथा चुनौतीहरु रहेको उनले बताए।

यसैगरी महिला तथा बालबालिकामाथि यौन दुव्र्यवहार÷दुराचार तथा यदाकदा जबर्जस्तीकरणीसमेत हुन सक्ने,पशु बली विरोधी समूह तथा सङ्घ संस्थाबाट विरोध प्रदर्शन हुन सक्ने,मेला दर्शन गर्न आउने भक्तजन तथा हेर्न आउने पर्यटकहरू बिरामी हुनसक्ने वा कसैको मृत्यु हुन सक्ने,मेला अवधिमा शीतलहर चली अत्याधिक ठण्डीले दर्शनार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने,भारतीय सीमा–नाकामा सवारी साधन तथा पैदलयात्रुको अत्याधिक भिडभाड भई जाँचमा कठिनाइ हुन सक्ने चुनौतीहरु रहेका छन ।

त्यसैगरी बलीका लागि ल्याइएका पशुहरू उम्की,भागी (विशेष गरी राँगाहरू) अनियन्त्रित भई मानिस तथा सम्पत्तिहरूमा क्षति पु¥याउन सक्ने,बली दिने ठाउँमा राँगाको मासु तथा छालाको लुटपाट हुन सक्ने,दुर्गन्ध फैलिन सक्ने,सवारी साधनहरूमा क्षमताभन्दा बढी यात्रु सवार भई दुर्घटना हुन सक्ने,खानेपानी तथा शौचालयको समस्या हुन सक्ने तथा फोहर तथा दुर्गन्धका कारण महामारी फैलन सक्ने लगायतको चुनौतीहरु रहेको उनले बताए।

उक्त मेलामा ट्राफिक व्यवस्थापनमा समस्या हुन सक्ने,भि.आई. पि र भि.भि.आईपीहरुको सवारी सहज आगमनमा सुरक्षा कठिनाई हुन सक्ने,पसहा खोलाको सांघुरो पुलमा दोहोरो सवारी साधन तथा मानिसहरुको भिडले सवारी दुर्घटना,मानिस च्यापिने तथा पुलबाट खस्न सक्ने,पुल भत्किन सक्ने,बाक्लो हुस्सुको कारण भिजिबिलीटी कम भई सवारी दुर्घटना हुन सक्ने चुनौतीहरु रहेको उनले बताए।

सरोकारवाला निकायहरूसंग समन्वय गरी सुरक्षा रणनीति बनाउने,लाइन व्यवस्थापन गरी छिटो छरितो र सहज तरिकाले मन्दिर दर्शन गर्ने वातावरण बनाउने,मन्दिर परिसरमा सुरक्षाको टोली खटाई सुरक्षा व्यवस्था गर्ने र भिडभाड हुन नदिने,तालिम प्राप्त कुकर टोली खटाई अपराधको रोकथाम गर्ने लगायतको सुरक्षा रणनीति बनाईएको उनले जानकारी दिए।

मेलामा पक्राउ परेका व्यक्तिहरूको अनुसन्धान तथा छानबिन टिम खटाउने,बली व्यवस्थापन गर्न टोली खटाउने,मनोरञ्जनस्थल व्यवस्थापन गर्न टोली खटाउने,अपराध तथा दुर्घटना हुन नदिने,मेलास्थलमा पैदल गस्ती टोली परिचालन गर्ने,पिकेट परिचालन गर्ने,सादा पोशाकमा टोली परिचालन गर्ने, सूचना संकलन गर्ने,मोबाइल गस्ती टोली परिचालन गर्ने सुरक्षा रणनीति बनाईएको छ।

रिजर्भ टिमको व्यवस्था गर्ने,आकस्मिक उद्दार कार्यको लागि रेस्क्यु टिमको परिचालन गर्ने,ट्राफिक व्यस्थापन गर्न आवश्यक ट्राफिक प्रहरी खटाउने,मन्दिरसम्म जाने वैकल्पिक मार्गको व्यवस्था गर्ने,प्राथमिक उपचारको व्यवस्था गर्ने,मदिरा विक्री वितरण नियन्त्रण गर्ने तथा जुवातास खेल्न रोक लगाउने,मन्दिरमा प्रवेश तथा निकासको छुट्टाछुट्टै मार्गको व्यवस्था गर्ने,मेला क्षेत्र आसपासको ऊखुवाली ऊखुधनि र पालिका तथा सुगर मिलसँग समन्वय गरी समयमा कटान गर्ने,अनुसन्धानको क्रममा नियन्त्रणमा लिएका मानिसलाई सोधपुछ गर्ने,तत्काल होल्ड गर्ने, अनुसन्धान कक्षको व्यवस्था गरिने छ ।

मेलालाई सुरक्षित बनाउनको लागि बढी भन्दा बढी प्रविधि (टेक्नोलोजी) सि.सि.टिभी,ड्रोन क्यामरा,मेटल डिडेक्टर आदिको प्रयोग गरिने प्रहरी उपरीक्षक खडकाले जानकारी दिए।

छिमेकी जिल्ला र भारतीय सीमावर्ति जिल्लाका सुरक्षा निकायसंग समन्वय गरी सुरक्षा व्यवस्था मिलाउने,पसाहा पुल नजिकबाट पैदल यात्री,वैकल्पिक सवारी आगमनको लागि पालिकासंग समन्वय गरी डाईभर्सनको व्यवस्था मिलाउने,बारा जिल्ला भित्र प्रवेश गर्ने नाकामा दर्शनार्थि सहायता कक्षको स्थापना गर्ने,अपराध नियन्त्रण र दर्शनार्थिको सहज आवागमन व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय बाराको अनुरोध भनि,होर्डिङ्ग बोर्ड र फ्लेक्स बोर्डको व्यवस्था गर्ने उनले बताए।

अन्य सुरक्षा निकाय (नेपाली सेना, सशस्त्र प्रहरी वल, रा.अ.वि.) संग समन्वय गरी आवश्यकता अनुसार परिचालन गरिने छ । मेलामा जिल्ला प्रशासन कार्यालय बाराको अनुमति विना कुनै किसिमको ड्रोन क्यामेरा चलाउन/उडाउन रोक लगाईएको छ।

मारकले मार हान्ने हतियार खुल्ला रुपमा प्रदर्शन गर्न वा बोक्न समेत निषेध गरिएको छ । अनुमति विना वलि दिने स्थानको भिडियो, फोटो लिन नपाउने र कुनै पनि सामाजिक सञ्जालमा पोस्ट गर्न रोक लगाईएको छ।

मन्दिर परिसर छेउछाउमा खुल्ला रुपमा मदिरा बिक्रि वितरण गर्न नपाउने,मनोरञ्जन क्षेत्रमा अनुमति विना कुनै पनि किसिमको चन्दा,आर्थिक संकलन गर्न नपाउने,मेला क्षेत्रमा ध्वनी प्रदुषण हुने गरी ठूलो स्वरमा डिजे बाजा बजाउन,सवारी साधन तोकिएको स्थान भन्दा अन्यत्र पार्किङ्ग गर्न नपाउने,“लङ्गुर बुर्जा”,जुवातास,कैडा,पासा जस्ता जुवाजन्य खेलहरु खेलाउन रोक लगाईएको छ ।

Leave a review

This will close in 0 seconds