जीतपुर : अक्षरा पाठशाला सिमराको नवौँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले गुणस्तरीय शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्नुभयो। उहाँले कक्षा ५ को परीक्षा उपमहानगरपालिकाले नै सञ्चालन गर्ने जानकारी दिँदै पूर्व सूचना बमोजिम परीक्षा सञ्चालन हुने स्पष्ट पार्नुभयो। नगरस्तरीय मूल्याङ्कन प्रणालीले शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले आगामी प्रतिनिधि सभा निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग शिक्षा ऐन, शैक्षिक सुधार तथा स्थानीय विद्यालयको विकाससम्बन्धी एजेन्डाबारे स्पष्ट धारणा माग गर्न अभिभावक तथा सरोकारवालालाई आग्रह गर्नुभयो।
कार्यक्रममा एस.पि.ई.एस.का प्रिन्सिपल वसन्त ढकालले नगरस्तरीय कक्षा ५ को परीक्षा सञ्चालनका विषयमा फरक धारणा राख्नुभयो। हालको तयारी र पूर्वाधारको अवस्थालाई मध्यनजर गर्दै नगरस्तरीय परीक्षा तत्काल सञ्चालन गर्नु उपयुक्त नदेखिएको उहाँको भनाइ थियो। परीक्षा सञ्चालनको समय परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले विद्यार्थीमैत्री वातावरणमा सिकाइ प्रक्रियालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
उपमहानगरपालिकाले यसअघि कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालन गरिसकेको सन्दर्भमा कक्षा ५ मा समेत परीक्षा सञ्चालन गर्ने तयारीले शैक्षिक वृत्तमा बहस सिर्जना गरेको छ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा अनुशासन क्षेत्रमा हासिल उपलब्धिहरू सार्वजनिक गर्नुभयो। उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। साथै विद्यार्थीहरूले गीत, संगीत तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई आकर्षक बनाएका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक ऋषि काफ्लेले गर्नुभएको थियो। समितिका पदाधिकारीहरूले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि अभिभावकहरूको निरन्तर साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा थप सुधारात्मक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।









