कलैया । महँगी नियन्त्रणलगायत सातसूत्रीय माग राख्दै नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति बाराले सोमबार जिल्ला प्रशासन कार्यालय बारामार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
नेकपा बाराका संयोजक गीता कडेलको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंमा पठाइएको छ।

ज्ञापनपत्रमा पछिल्लो समय देश संकट र जटिल अवस्थामा पुगेको तथा जनताले अपेक्षाअनुसार न्यूनतम सेवा–सुविधासमेत प्राप्त गर्न नसकेको उल्लेख गरिएको छ। सुशासनको एजेन्डासहित आएको सरकारको दैनिक कामकारबाही र गतिविधिबाट जनता निराश हुँदै गएको दाबी गर्दै आम जनताका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्न माग गरिएको छ।
ज्ञापनपत्रमा किसान तथा कृषि क्षेत्रमा आवश्यक रासायनिक मल सहुलियत मूल्यमा सहज रूपमा उपलब्ध गराउन, ग्यास सिलिन्डरको अभाव अन्त्य गर्न र जिल्लामा हुँदै आएको अघोषित लोडसेडिङ अन्त्य गर्न माग गरिएको छ। विद्युत् महसुलमा लगाइएको अनावश्यक कर हटाउनसमेत माग गरिएको छ।
त्यस्तै, मालपोत, नापी, जिल्ला प्रशासन, यातायातलगायत सरकारी कार्यालयबाट सेवाग्राहीले पाउने सेवामा देखिएको ढिलासुस्ती र लापरबाही अन्त्य गरी छिटोछरितो सेवा प्रवाह गर्न माग गरिएको छ।
सरकारी अस्पतालमा हप्तामा दुई दिन बिदा दिने व्यवस्था हटाई चौबीसै घण्टा विशेषज्ञसहितको सेवा उपलब्ध गराउन तथा जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचारका लागि एन्टिस्नेक भेनम सहज रूपमा उपलब्ध गराउन माग गरिएको छ। जिल्लामा देखिएको रेबिज भ्याक्सिनको अभाव तत्काल समाधान गर्न पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढेको भन्दै महँगी नियन्त्रणका लागि तत्काल बजार अनुगमनलाई प्रभावकारी बनाउनसमेत नेकपा बाराले माग गरेको छ।


