नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

साझेदारी डेलि
96 पाठक संख्या

बारा । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि बारा क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको छ। लम्साल खुला तर्फबाट निर्विरोध महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो।

राजनीतिक तथा पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय लम्सालले वि.सं. २०५१ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बारा क्षेत्र नम्बर १ को अध्यक्षको जिम्मेवारी सम्हाल्दै आफ्नो राजनीतिक यात्रा अघि बढाउनुभएको थियो। उहाँले बारा, स्याङ्जा र मकवानपुर बहुमुखी क्याम्पसका नेविसंघ इकाइमा रहेर संगठन विस्तार तथा विद्यार्थी आन्दोलनमा भूमिका निर्वाह गर्नुभएको थियो।

पत्रकारिता क्षेत्रमा समेत लामो अनुभव हासिल गर्नुभएका लम्सालले नेपाल प्रेस युनियनको काठमाडौं शाखा सभापति, केन्द्रीय सचिव, केन्द्रीय महासचिव तथा सल्लाहकारलगायतका जिम्मेवारी सम्हालिसक्नुभएको छ। उहाँ हाल नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ।

नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गृहजिल्ला बाराको क्षेत्र नम्बर १ बाट खुला तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएपछि लम्सालको कांग्रेसको महाधिवेशनमा सहभागिता सुनिश्चित भएको हो।

Leave a review