Sajhedari Daily
Latest News from Nepal

सिंगौल फुटबल क्लव ए निजगढ मेयर कपको सेमिफाईनलमा

नवराज चौलागाईं
निजगढमा जारी तेस्रो मेयरकप फुटबल प्रतियोगितामा सिंगौल फुटबल क्लव ए ले सेमिफाईनलको यात्रा तय गरेको छ ।
विहिवार सम्पन्न पहिलो क्वार्टरफाईनल खेलमा निजगढ सिटी क्लवलाई ३—२ गोल अन्तरले पराजित गर्दै सिगौल सेमिफाईनलमा प्रवेश गरेको हो ।
सिंगौलको जितमा रोशन थापाले खेलको ५ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलमा निजगढ सिटीका बुद्धिमान भुलोनले ४० औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफको खेल बराबरीमा सकिएको खेलको ६५ औ मिनेटमा सिंगौलका सब्सिच्युट खेलाडी अर्बिन थापाले गोल गर्दै सिंगौललाई पुनःअग्रता दिलाए ।
सिंगौलले अग्रता बनाएको ३ मिनेट मै प्राप्त गरेको कर्नरमा सब्सीच्युट खेलाडी सन्दिप खुलालले हेड मार्फत गोल गर्दै सिंगौललाई ३–१ को अग्रता दिलाए । खेलको ७८ औँ मिनेटमा सिंगौलको डी बक्स भित्र निजगढ सिटीका खेलाडीलाई फल गरेपछि निजगढ सिटीले प्राप्त गरेको पेनाल्टीमा बुद्धिमान भुलोनले निजगढ सिटीका लागि दोश्रो गोल गरे ।
तर खेलको अन्त्यतिर सिंगौलले सुरक्षा पंक्तिलाई मजबुत बनाएपछि निजगढ सिटी खेलमा फर्कन सकेन र खेल सिंगौलले ३—२ ले आफ्नो पक्षमा पार्दै सेमिफाईनलमा प्रवेश गर्यो । खेलमा निजगढ सिटीका सृजन गौतमले पहेलो कार्ड पाएकाथिए ।
खेलको म्यान अफ द म्याच निजगढ सिटीका सिजल तिमल्सीना घोषित भएका छन । प्रतियोगिता अन्तर्गत दोश्रो क्वार्टरफाईनलमा शुक्रबार रतनपुर युनाईटेड युथ क्लव र हिमाल युवा क्लवबीच प्रतिस्पर्धा हुनेछ ।
रतनपुर पहिलो चरणमा नमोबुद्ध आधुनिक क्लवलाई पराजित गर्दै क्वार्टरफाईनलमा प्रवेश गरेकोहो भने हिमाल सिंगौल फुटबल क्लव बी लाई पराजित गर्दै क्वार्टरफाईनलमा प्रवेश गरेकोहो । खेल शहिद हिरालाल रंगशालामा दिउसो २ः३० देखि हुनेछ ।