सिमरा । वन तथा वन्यजन्तुविरुद्ध हुने अपराध नियन्त्रण तथा चोरी सिकारी न्यूनीकरण गर्ने उद्देश्यले बाराको सिमरामा वन्यजन्तु अपराध नियन्त्रण ब्युरोको बैठक सम्पन्न भएको छ ।
डिभिजन वन कार्यालय बाराको आयोजना तथा तराई भू–परिधि तथा संरक्षण कार्यक्रमको सहकार्यमा आयोजित बैठकमा वन संरक्षण, वन्यजन्तु व्यवस्थापन तथा चोरी सिकारी नियन्त्रणका विषयमा विस्तृत छलफल गरिएको बन कार्यक्रम संयोजक बन अधिकृत बर्षा लामाले जानकारी दिईन् ।
कार्यक्रममा डिभिजन वन कार्यालय बाराअन्तर्गतका विभिन्न सब–डिभिजन वन कार्यालयका प्रमुखहरूले आफ्नो कार्यक्षेत्रभित्र रहेका वन क्षेत्र, जैविक विविधता, वन्यजन्तुको अवस्था तथा संरक्षणका लागि गरिएका गतिविधिबारे जानकारी गराएका थिए। उनीहरूले पछिल्लो समय वन क्षेत्रमा देखिएका चुनौती, मानव–वन्यजन्तु द्वन्द्व तथा वन अतिक्रमण नियन्त्रणका लागि भइरहेका प्रयासबारे समेत प्रकाश पारेका थिए।
डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजित कुमार झाले जिल्लाभित्रका वन क्षेत्रको समग्र अवस्था, वन संरक्षणका लागि सञ्चालन भइरहेका कार्यक्रम तथा चोरी सिकारी नियन्त्रणका लागि अपनाइएका रणनीतिबारे जानकारी गराएका थिए। उनले वन्यजन्तुको अवैध सिकार तथा तस्करी नियन्त्रणका लागि सरोकारवाला निकायबीचको समन्वय अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले वन्यजन्तुको बानीव्यवहार, मानव–वन्यजन्तु द्वन्द्व, वन्यजन्तुबाट हुने क्षति, क्षतिपूर्ति वितरण प्रक्रिया तथा वन्यजन्तुसँग सहअस्तित्व कायम गर्ने उपायहरूबारे प्रस्तुति दिएका थिए। उनले वन्यजन्तु संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संरक्षण अभियानमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
बैठकमा वन क्षेत्र आसपासका बस्तीमा बढ्दो वन्यजन्तु आवतजावत, जंगली हात्ती, बाघ, चितुवा, बाँदर तथा अन्य वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका उपायहरूबारे समेत छलफल गरिएको थियो। सहभागीहरूले चोरी सिकारी तथा वन्यजन्तु तस्करी नियन्त्रणका लागि सामुदायिक वन उपभोक्ता समूह, सुरक्षा निकाय, स्थानीय तह तथा संरक्षणसम्बद्ध संस्थाहरूबीच समन्वय र सूचना आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए। कार्यक्रममा वन कार्यालयका कर्मचारी, पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकले वन तथा वन्यजन्तु अपराध नियन्त्रणका लागि संयुक्त निगरानी, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा समुदायको सहभागिता अभिवृद्धि गर्दै संरक्षण अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा बाराका साहयक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराई ,सरकारी वकिल कार्यालय बाराका शम्भु कुमार बस्नेत ,डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत सुजित कुमार झा ,पर्सा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडा ,सबुज गण बाराका गणपती अनुप सिँह बस्नेत ,रिपुमर्दन गण बाराका गणपती गिरीराज गौतम , ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक दिलिप क्षेत्री ,सशस्त्र बेश क्याम्प जीतपुरका सशस्त्र प्रहरी उपरिक्षक बिश्वराज योञ्जन ,नापी कार्यालय सिमराका नापी अधिकृत राधेश्याम साह लगायतको सहभागिता रहेको थियो ।
डिभिजन बन कार्यालय बारामा रत्नपुर सब डिभिजन बन कार्यालय ,निजगढ सब डिभिजन बन कार्यालय ,तामागढी सब डिभिजन बन कार्यालय ,कोल्हबी सब डिभिजन बन कार्यालय,मधुबन सब डिभिजन बन कार्यालय ,हलखोरिया सब डिभिजन बन कार्यालय र पथलैया सब डिभिजन बन कार्यालय गरी साँतवटा सब डिभिजन बन कार्यालयहरु रहेका छन् ।


