बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश राम रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार शुक्रबार घरमा टेलिभिजन चलाउने क्रममा विद्युत्को तार सर्ट भएर करेन्ट लाग्दा आकाश गम्भीर घाइते भएका थिए ।
घाइते आकाशलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले इसिजी परीक्षण गर्दा उनलाई अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको प्रवक्ता घलेले जानकारी दिए ।
उनका अनुसार आकाशलाई करेन्टबाट छुटाउने क्रममा उनकी हजुरआमा ७० वर्षीया ऐतबरिया देवी, दिदी १२ वर्षीया निलम, छिमेकी ४० वर्षीया फूलकुमारी राम र ४१ वर्षीया अनिता शर्मा पनि करेन्ट लागेर घाइते भएका छन् ।
घाइतेमध्ये ऐतबरिया देवी, फूलकुमारी राम र अनिता शर्माको कोल्हवीस्थित तामागढी अस्पतालमा उपचार भइरहेको छ । निलमको भने कोल्हवीस्थित सिटी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको प्रवक्ता घलेले जानकारी दिए ।


