बारा । अन्तर्राष्ट्रिय थाहा पाउने दिवसको अवसरमा बाराको कलैयामा प्रभातफेरी निकालिएको छ। सूचनाको हकका लागि महासंघ, बाराको आयोजनामा सोमबार कलैयामा प्रभातफेरी निकालिएको हो।
सूचनाको हकका लागि महासंघ बाराका अध्यक्ष निरन्जन कुमार साहको नेतृत्वमा निकालिएको प्रभातफेरीमा सूचना हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियो।
‘पारदर्शिता र जवाफदेहिताको आधार, सूचनाको हक’, ‘सूचना हाम्रा अधिकार’, ‘सुशासन र विकासको आधार, सूचना’, ‘सूचना पाउनु हाम्रो अधिकार, नपाएमा खोजौँ उपचार’ र ‘खुला सूचना, जवाफदेही सुशासन’ लगायतका नारासहित प्रभातफेरी निकालिएको थियो।
प्रभातफेरीपछि कलैयाको भरत चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै सूचना हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष बागचनले प्रत्येक नागरिकले सूचनाको हक प्रयोग गरी सार्वजनिक निकायबाट आवश्यक सूचना माग गर्न आग्रह गर्नुभयो।
उहाँले सार्वजनिक निकायका सूचना अधिकारीहरूलाई पनि नागरिकलाई सहज रूपमा सूचना उपलब्ध गराउन आग्रह गर्नुभयो। बारामा पनि सूचनाको हकको प्रवर्द्धन हुनुपर्ने र सार्वजनिक निकायले सूचना उपलब्ध गराउन आनाकानी गर्न नहुने उहाँको भनाइ थियो।
प्रभातफेरीमा सूचना हकका लागि राष्ट्रिय महासंघका केन्द्रिय सदस्य सन्तोष पाण्डे,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान,मधेस प्रदेशका सदस्य साजिर मंसुर,नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादव, पत्रकार उपेन्द्र ठाकुर, महिला अधिकारकर्मी किस्मती देवि राम,अभियन्ता हिरामती कुशवाहा, जेनजी युथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेय,सौरभ चौगाई तथा विद्यार्थी लगायतको सहभागिता रहेको थियो।


