कोल्हबी । बाराको कोल्हबी नगरपालिका–१ बटौलिया टोलमा नयाँ विद्युत ट्रान्सफर्मर जडान गरिएको छ। कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीको विशेष पहलमा नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रबाट ५० केभी क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरिएको हो।
केही दिनअघि बटौलिया टोलमा रहेको विद्युत ट्रान्सफर्मर जलेर बिग्रिएपछि गाउँभरि विद्युत सेवा अवरुद्ध भएको थियो। विद्युत आपूर्ति बन्द हुँदा स्थानीय बासिन्दाको दैनिक जनजीवन प्रभावित हुनुका साथै विद्युतबाट सञ्चालन हुने मिल, मोटर, कृषि मिटर तथा विभिन्न विद्युतीय उपकरणहरू समेत सञ्चालन हुन सकेका थिएनन्।
ट्रान्सफर्मर जलेपछि लामो समयसम्म विद्युत सेवा अवरुद्ध हुँदा स्थानीय किसान तथा व्यवसायीहरू थप समस्यामा परेका थिए। विशेषगरी कृषि प्रयोजनका लागि विद्युतमा निर्भर रहेका मोटर तथा अन्य उपकरण सञ्चालन गर्न नपाउँदा स्थानीयवासीलाई कठिनाइ भएको थियो।
समस्या समाधानका लागि नगर प्रमुख रामप्रसाद चौधरीले सम्बन्धित निकायसँग समन्वय तथा पहल गरेपछि कलैया वितरण केन्द्रबाट नयाँ ५० केभी ट्रान्सफर्मर उपलब्ध गराई जडान गरिएको स्थानीयले बताएका छन्।
नयाँ ट्रान्सफर्मर जडान भएसँगै बटौलिया टोलमा विद्युत सेवा पुनः सञ्चालन भएपछि स्थानीय बासिन्दामा उत्साह छाएको छ। विद्युत सेवा सुचारु भएपछि दैनिक कामकाजसँगै कृषि तथा घरेलु प्रयोजनका विद्युतीय उपकरण सञ्चालन गर्न सहज भएको स्थानीयको भनाइ छ।
ट्रान्सफर्मर जडानका लागि विशेष पहल तथा समन्वय गरिदिएको भन्दै बटौलियाका स्थानीय बासिन्दाले नगर प्रमुख रामप्रसाद चौधरीप्रति धन्यवाद व्यक्त गरेका छन्। स्थानीयले विद्युतजस्तो आधारभूत सेवामा देखिएको समस्या समाधानका लागि नगरपालिकाको पहललाई सकारात्मक रूपमा लिएको बताएका छन्।
नगर प्रमुख चौधरीले पनि नगरवासीले भोग्दै आएका आधारभूत समस्यालाई प्राथमिकताका साथ समाधान गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै जाने बताएका छन्। नयाँ ट्रान्सफर्मर जडानसँगै बटौलिया टोलका बासिन्दाले अब नियमित र सहज विद्युत सेवा पाउने अपेक्षा गरेका छन्।


