Sajhedari Daily
Latest News from Nepal

पर्सामा चिसो तथा शितलहर बच्न पर्सामा ४४ लाख रकम खर्च गरिदै

राम मण्डल /
पर्सामा शितलहरबाट प्रभावित भएकाहरुलाई तथा चिसोबाट बच्नको लागि यसबर्ष पर्सामा ४४ लाख रकम खर्च गरिदै छ ।
चिसो तथा शितलहरबाट बच्न र प्रभावितहरुलाई उद्धार गर्नको लागि ४४ लाख रकम बिनियोजन गरिएको हो । चालुअर्थिक बर्षमा जिल्लामा शितलहर तथा चिसोजन्य विपद्बाट प्रभावित हुन सक्ने संकटापन्न व्यक्तिहरु तथा परिवारका लागि संघीय सरकार, प्रदेश २ सरकार तथा स्थानीय तहबाट गरि रु ४४ लाख रकम खर्च गरिने भएको हो ।

यसबर्ष चिसोबाट बच्न संघीय सरकारबाट १५ लाख प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट १० लाख र स्थानीय तहहरुबाट रु १९ लाख रकम प्राप्त भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

उक्त रकमबाट जिल्लाका ७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकहरुलाई एक÷एक थान टोपी, वडी वार्मर र कम्बल उपलब्ध गराईने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिएका छन ।

चिसोबाट बच्नको लागि चाहिने यी सामानहरुको खरिद प्रक्रियासमेत शुरु भईसकेको पौडेलले बताए । साथै यसबर्ष जिल्लामा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने पनि निर्णय जिल्ला बिपत ब्यवस्थापन समितिले गरेको छ ।

न्यानो कपडाको नमूना छनौटको लागि सहायक प्रजिअ भिमकान्त पौडेलको संयोजकत्वमा ६ सदस्यि छनौट समिति पनि गठन गरिएको छ । शितलहरबाट बच्नको लागि स्थानीय तह, सुरक्षा निकाय, डिभिजन सडक कार्यालय, ट्राफिक प्रहरी कार्यालय लगायतको समन्वयमा कुहिरो तथा हुस्सु लागेको समयमा सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने एवं सर्भे समूह गठन गरी यस्तो स्थानको म्यापिङ गर्ने, दुर्घटना स्थानको पहिचान गर्ने, सांकेतिक चिन्ह राख्ने, सूचनामूलक सन्देश राख्ने कार्य पनि गरिने जिल्ला प्रशासनले जनाएको छ ।

शीत लहर तथा चिसोबाट वच्न विद्यार्थीहरुलाई चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि जिल्ला बिपत ब्यवस्थापन समितिले निर्णय गरेको छ । शितलहरबाट बच्नको लागि डिभिजन बन कार्यालयले आवश्यक दाउराको व्यवस्था पनि गर्ने भएको छ ।