हुण्डी कारोबारमा संलग्न गुप्तालाई पुर्पक्षमा राख्न अदालतको आदेश

संदिप प्रसाद यादव
334 पाठक संख्या

वीरगञ्ज : सङ्गठित रूपमा हुण्डीमार्फत आर्थिक कारोबारमा संलग्न रहेको आरोपमा पर्सा जिल्ला अदालतले एकजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। वीरगञ्ज महानगरपालिका–१ निवासी प्रशान्तकुमार गुप्तालाई सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश बुधबार अदालतले दिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पर्सा प्रहरीले गुप्तालाई पुस १७ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। गुप्ताले भारतको रक्सौलबाट हुण्डीमार्फत नेपाली रकम नेपाल भित्र्याई विभिन्न बैंक खातामा जम्मा गर्ने, चेक तथा फोन पे जस्ता विद्युतीय माध्यमबाट रकमान्तर गरी रकम लुकाउने वा परिवर्तन गर्ने जस्ता गैर कारोवार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले गुप्ताविरुद्ध उक्त आधारमा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको थियो। जिल्ला अदालतले प्रारम्भिक प्रमाणका आधारमा गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

प्रहरीले गुप्तासँग रु १ अर्ब ७९ करोड २१ लाख १५ हजार ८०० बिगो दाबी गरेको छ भने कुल बिगो रु २ अर्ब ४१ करोड ७८ लाख २३ हजार ३७८ कायम गरिएको जनाएको छ। प्रहरीले पक्राउका क्रममा रु ३३ लाख ५९ हजार २५५ नगद जफत गरिएको जानकारी दिएको छ।

Leave a review