कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश कार्यालयले बारामा हुने भनिएका वडा अधिवेशन तत्कालका लागि स्थगन गर्न निर्देशन दिएको छ।

सहमहामन्त्री एवं संगठन विभाग प्रमुख गणेश धिमालद्वारा जारी पत्रमा जिल्ला कार्यसमिति, बारालाई सम्बोधन गर्दै २०८३ वैशाख १७ गते सार्वजनिक गरिएको विभिन्न तीन पालिकाका १७ वटा वडामा अधिवेशन गर्ने प्रक्रिया रोक्न भनिएको हो।
पत्रअनुसार जिल्ला समितिले अघि बढाएको अधिवेशन सम्बन्धी प्रक्रिया सामाजिक सञ्जाल तथा पार्टीका शुभेच्छुक, समर्थक र कार्यकर्तामार्फत जानकारीमा आएको जनाइएको छ। तर, हाल पार्टीको विभिन्न तह तथा संरचनामा समायोजन गर्ने कार्य विधि र प्रक्रियाअनुसार हुनुपर्ने र सो क्रममा केही त्रुटि देखिएकाले अधिवेशन प्रक्रिया स्थगन गर्नुपर्ने निष्कर्ष निकालिएको उल्लेख गरिएको छ।
प्रदेश संगठन विभागले केन्द्रसँग समन्वय गरी अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि सम्पूर्ण वडा अधिवेशन कार्यक्रम रोक्न निर्देशन दिएको जनाएको छ।
उक्त निर्णयबारे मधेश प्रदेश समिति र केन्द्रीय संगठन विभागलाई समेत बोधार्थ पठाइएको छ।

