कलैया । बाराको कलैयामा रात्रीकालीन मादक पदार्थ सेवन (मापसे) जाँचसँगै बारा सदरमुकाम कलैयामा ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। रातिको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य सहित अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाले यस्तो जाँच गरिरहेको हो। मादक पदार्थ सेवन गरी सवारी नचलाउन, तोकिएको लेनअनुसार सवारी चलाउन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न चालकलाई यसक्रममा पोष्टले सचेत गराएको हो।
अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रमुख ट्राफिक प्रहरी सहायक निरीक्षक प्रिन्शानन्द यादवको नेतृत्वमा शनिबार राति जाँच गरिएको हो। ट्राफिक प्रहरी पोस्टअगाडि एक सयभन्दा बढी सवारीसाधन जाँच गरिएको थियो। विशेषगरी दुईपाङ्ग्रे सवारी चालकलाई मापसे नगरी सवारी चलाउन, हेल्मेटको अनिवार्य प्रयोग गर्न तथा तीव्र गतिमा सवारी नचलाउन उक्त अवसरमा आग्रह गरिएको थियो।
ट्राफिक प्रहरी जवान राजेशप्रसाद कुशवाहाले सवारी चालकलाई मापसे गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने जनाए। चालक तथा अन्य सडक प्रयोगकर्ताको ज्यानसमेत जोखिममा पर्ने भएकाले जिम्मेवार भएर सवारी चलाउन कुशवाहाले आग्रह गरेका थिए। चालकलाई रातिको समयमा सवारी चलाउँदा गति नियन्त्रण गर्न भनिएको थियो।
ओभरटेक गर्दा सावधानी अपनाउन, सवारीसाधनको अवस्था जाँच गरेर मात्र सडकमा निस्कन भनिएको हो। सडकमा पैदल यात्रु र अन्य सवारीसाधनप्रति विशेष ध्यान दिनसमेत सचेत गराइएको हो।सवारीसाधन जाँच गर्नुका साथै चालकलाई ट्राफिक नियम उल्लंघनबाट हुने दुर्घटना र त्यसका सम्भावित जोखिमबारे जानकारी गराएको थियो।
रातिको समयमा मापसे, तीव्र गति तथा लापरबाहीका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्ता गतिविधिलाई नियन्त्रण गर्न नियमित रूपमा चेकिङ र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरी सहायक निरीक्षक यादवले बताए। ट्राफिक प्रहरीको चेकिङ मात्र पर्याप्त नभई चालक स्वयंले पनि ट्राफिक नियमको पालना गर्न गरी जिम्मेवार ढंगले सवारी चलाउनुपर्ने उनले बताए। सडक दुर्घटना न्यूनीकरणका लागि चालक, यात्रु तथा अन्य सडक प्रयोगकर्ताले समेत सावधानी अपनाउन आवश्यक रहेको उनले बताए।


