बाराको महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्रप्रसाद यादवले महागढीमाई नगरपालिकाको दीर्घकालीन सोचलाई बुधबार सार्वजनिक गरेका छन् ।
महागढीमाई नगरपालिकाको नगर सभाको आठौं अधिवेशनमा नीति, कार्यक्रम तथा बजेट पेश गर्दै महागढीमाई नगरपालिकाको रहर सुशासन र सुन्दर शहर रहेको उनले बताएका हुन् ।
नगर सभा महागढी नगरपालिकाको कार्यालयमा अवस्थित सभाहलमा भएको हो । उनले आर्थिक वर्ष ०८१÷०८२ को बजेट प्रस्तुत गर्दै ७७ करोड ५४ लाख ९८ हजार पाँच सय रुपैयाँको आय अनुमानका साथ बजेट प्रस्तुत गरेका छन् ।
उनले यसमा संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १४ करोड ५२ लाख प्राप्त हुने अनुमान गरेका छन् । सशर्त अनुदान चालु तर्फ २७ करोड, ८८ लाख, ९९हजार पाँच सय रुपैयाँ आय प्रक्षेपण गरेको छ । विशेष अनुदान दुई करोड रुपैयाँ रहेको छ ।
समपुरक अनुदान एक करोड ५० लाख, राजश्व बाँडफाडबाट १२ करोड तीन लाख रुपैयाँको अनुमान गरिएको छ । यी सबै संघीय सरकारबाट प्राप्त हुने अनुदान रकम हो । यस्तै प्रदेश सरकारबाट एक करो, आठ लाख ७१ हजार आय हुने अनुमान गरिएको छ । प्रदेश सशर्त अनुदान ९५ लाख, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाखको आय प्रक्षेपण गरिएको छ । यस्तै प्रदेश सरकारबाट राजश्व बाँडफाडमा ४० लाख, नगरपालिकाको आन्तरिक श्रोतबाट पाँच करोड आयको प्रक्षेपण गरिएको छ ।
महागढीमाई नगरपालिकाले शिक्षा सम्बन्धी नीति,स्वास्थ्य सम्बन्धी नीति,संस्कृति सम्पदा तथा पर्यटन सम्बन्धी नीति,फोहोर व्यवस्थापन तथा प्रदुषण नियन्त्रण सम्बन्धी नीति,संस्थागत विकास तथा सुशासन सम्बन्धी नीति,राजश्व तथा वित्त सम्बन्धी नीति,यातायात सम्बन्धी नीति,कानुन तथा न्यायिक समिति सम्बन्धी नीति,कृषि सम्बन्धी नीति,पशु स्वास्थ्य सम्बन्धी नीति,सामाजिक विकाससंग सम्बन्धी नीति,खेलकुद सम्बन्धी नीति,सीप विकास तथा उद्यमशिलता प्रवद्र्धन सम्बन्धी नीति,सहकारी सम्बन्धी नीति,विपद व्यवस्थापन सम्बन्धी नीति,शहरी विकास तथा भवन मापदण्ड सम्बन्धी नीति,सार्वजनिक निजी साझेदारी सम्बन्धी नीति,समानता तथा सामाजिक समावेशिकरण नीति,खानेपानी तथा सरसफाई सम्न्धी नीति,सिंचाई सम्बन्धी नीति,सूचना प्रविधि सम्बन्धी नीतिलाई उक्त अवसरमा सार्वजनिक गरिएको छ ।
सो अवसरमा नगर प्रमुख यादवले महागढीमाई नगरपालिकाको धार्मिक,संस्कृति,सम्पदा र सभ्यताको संरक्षण,सम्बद्र्धन र प्रवद्र्धन गर्नु आफ्नो पहिलो कर्तव्य भएको जनाए ।
कृषिको विकास, धार्मिक तथा संस्कृतिमा आधारित पर्यटन विकास गरिने उनले बताए । स्वच्छ,सफा,हरियालीयुक्त पर्यावरण विकास गरी हरित नगरपालिका बनाउने लक्ष्य रहेको उनले जनाए । नगरपालिकाको वडा नम्बर ६ मा अवस्थित गाउँटोलको भौगोलिक दुरीलाई दृष्टिगत गरी, वडाका वासिन्दाहरुलाई दैनिक सेवा लिन धेरै कठिनाई भैरहेकोले सो वडाको पत्रहटी,बर्वा र पर्सालाई जोी वडा नम्बर १२ बनाउन आवश्यक पहल गरिने उनले बताए ।
नगर सभामा स्वागत महागढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय कुशवाहाको थियो । कार्यक्रमको सञ्चालन चौरसियाको रहेको थियो ।सो अवसरमा नगरपालिकाकी उपप्रमुख तारादवै साह कानु,वडा अध्यक्ष हरु,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु लगायतको उपस्थिति थियो ।

