६ महिनामा झण्डै ८० घरेलु हिंसाका घटनाको उजुरी : सबैभन्दा बढी कलैयामा

राजेश कुशवाहा
280 पाठक संख्या

कलैया : बारामा अझैपनि घरेलु हिंसाका घटनाहरुमा कमी आएको छै । जिल्लामा चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा ८० वटा घरेलु हिंसाका उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८२ ÷०८३ को साउनदेखी मंसिरसम्म प्रहरीमा ८० वटा घरेलु हिंसाका उजुरी परेको जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार चालु आर्थिक बर्षको ६ महिनामा जिल्लाका १६ पालिका मध्ये सबभन्दा बढी कलैया उपमहानगरपालिकामा घरेलु हिंसाका घटना घटेको देखिन्छ । यसैगरी जिल्लको निजगढ नगरपालिका र आदर्शकोतवाल गाउँपालिकामा यो आर्थिक बर्षको मंसिरसम्ममा घरेलु हिंसाको घटना शुन्य रहेको देखिन्छ ।

कलैया उपमहानगरपालिकामा मात्र १५ वटा घरेलु हिंसाका घटना घटेको प्रहरीले जनाएको छ। जीतपुरसिमरा उपमहानगरपालिकामा १० वटा, महागढीमाई नगरपालिकामा ८ वटा, पचरौता नगरपालिकामा ७ वटा ,सिम्रौैनगढ नगरपालिकामा ५ वटा,कोल्हवी नगरपालिकामा २ वटा घरेलु हिंसाका घटना घटेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यसैगरी जिल्लाको सुवर्ण गाउँपालिकामा ५ वटा, प्रसौनी गाउँपालिका र बिश्रामपुर गाउँपालिकामा ४/४ वटा, फेटा गाउँपालिकामा ३ वटा , करैयामाई गाउँपालिका र बारागढी गाउँपालिकामा २/२ वटा र परवानीपुर गाउँपालिकामा भने एउटा मात्र महिला हिसांका घटनाको उजुरी परेका जिल्ला प्रहरी कार्यालयको रेकर्डले देखाउछ ।

यता बारा प्रहरी छ महिनाको अवधिमा परेका ८० वटा घरेलु हिंसाका उजुरीहरु मध्ये ५१ वटा उजुरी उपर मिलापत्र गराईएको उजुरी फरफारक गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । परेका उजुरी मध्ये एउटा पनि उजुरी वा घटनालाई अदालतसम्म मुद्दाको रुपमा लैजान नपरेको बारा प्रहरीले जनाएको छ ।

Leave a review