प्रादेशिक अस्पताल कलैयामा रेबिजविरुद्धको खोप अभाव, सर्वसाधारण मर्कामा

साझेदारी डेलि
75 पाठक संख्या

कलैया । बाराको कलैयास्थित प्रादेशिक अस्पतालमा रेबिज रोगविरुद्धको खोप अभाव हुँदा सर्वसाधारण मर्कामा परेका छन्। सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको खोप अस्पतालमा महिनौदेखि अभाव हुँदा विपन्न बिरामीहरू चर्को मूल्य तिरेर निजी मेडिकलबाट सेवा लिन बाध्य भएका हुन्।

अस्पतालमा खोप नहुँदा विशेषगरी गरिब तथा विपन्न परिवारका नागरिक बढी प्रभावित भएका छन्। जीतपुरसिमरा उपमहानगरपालिका–१७ का संजित कुमार चौधरीले आज सरकारी अस्पतालमा निःशुल्क सुई पाइने आशामा आए पनि रित्तो हात फर्किनुपरेको गुनासो गरे। उनले भने, “कुकुरले टोकेपछि निःशुल्क सुई पाइन्छ भनेर यहाँ आएँ, तर अस्पतालले बाहिरबाट किनेर ल्याउन भन्यो। बाहिर मेडिकलमा एउटै खोपको ५ सय ६० रुपैयाँ तिर्नुपर्‍यो।”

चौधरीले अस्पतालले पहुँचका आधारमा विभेदकारी तरिकाले खोप वितरण गर्ने गरेको आरोप समेत लगाएका छन्। टाढाबाट दुःख गरेर आउँदा पनि सरकारी सुविधा नपाउँदा आफू जस्ता धेरै सर्वसाधारण आक्रोशित बनेका छन्।

अस्पतालको एआरभी शाखाका अनुसार कुकुर तथा बिरालोले टोकेर उपचारका लागि दैनिक ४० देखि ५० जनासम्म सर्वसाधारण आउने गरेका छन्। अस्पतालका अहेव रबिन्द्र कुमार यादवले भने, “दैनिक २५ देखि ३० जना नयाँ बिरामी आउँछन्। तर अस्पतालमा खोप मौज्दात नभएकाले सबैलाई बाहिरबाटै किनेर ल्याउन सल्लाह दिने गरेका छौँ।”

यादवका अनुसार विगत ३ महिनादेखि खोपको अभाव रहँदै आएको छ। गत चैत २८ गते ९० वटा खोप प्राप्त भए पनि बिरामीको चापका कारण वैशाख ४ गते नै उक्त परिमाण सकिएको थियो। त्यसयता अस्पतालको एआरभी विभाग खोपविहीन अवस्थामा छ। निःशुल्क पाउनुपर्ने औषधिमा समेत नागरिकले ठूलो रकम खर्च गर्नुपर्ने अवस्थाले प्रशासनको फितलो व्यवस्थापनलाई उदाङ्गो पारेको छ।

यता अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अजयकुमार गुप्ताले खोप अभाव भएको स्वीकार गर्दै कसैप्रति पक्षपात नगरिएको बताए।

Leave a review

This will close in 0 seconds