गरिमा चौधरी हत्या प्रकरणमा ५ बुँदे सहमति, आन्दोलन स्थगित

साझेदारी डेलि
28 पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर जारी आन्दोलन ५ बुँदे सहमतिपछि स्थगित भएको छ।

पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र जिल्ला सुरक्षा समिति बाराबीच बिहीबार राति पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा भएको वार्तामा ५ बुँदे सहमति भएको हो।

सहमति भएसँगै घटनाको विरोधमा चरणबद्ध रूपमा हुँदै आएका आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको छ।

सहमतिअनुसार पीडित परिवारलाई उचित राहत तथा रोजगारको व्यवस्था गर्न स्थानीय तहको सहभागितामा गृह मन्त्रालयसमक्ष सिफारिस गरी आवश्यक पहल गरिने भएको छ।

त्यस्तै, घटनामा संलग्न भएको आरोपमा प्रहरी हिरासतमा रहेका संदिग्धहरूमाथि अनुसन्धान जारी राख्दै अनुसन्धानका क्रममा अन्य व्यक्तिको समेत संलग्नता पुष्टि भएमा उनीहरूलाई पनि प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने सहमति भएको छ।

जिल्लाको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन वर्तमान तथा भविष्यका सुरक्षा चुनौतीको विश्लेषण गरी भरपर्दो सुरक्षा वातावरण कायम गर्ने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिएको छ।

यसैगरी, इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रहँदा घटनाको अनुसन्धान तथा खोजीका क्रममा लापरबाही गरेको देखिएका सुरक्षाकर्मीमाथि आवश्यक कारबाही गर्ने मागसमेत सम्बोधन गर्ने सहमति भएपछि पीडित पक्ष आन्दोलन स्थगित गर्न सहमत भएको हो।

गरिमा चौधरीको शव भदौ २ गते जीतपुरसिमरा उपमहानगरपालिका –१ स्थित एक खाली घरमा फेला परेको थियो। घटनापछि दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीय तथा पीडित परिवारले सडक अवरुद्धसहित विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका थिए।

Leave a review